आइएसविरुद्ध लड्न इराकलाई ३० देशको साथ

  • 15 सेप्टेम्बर 2014
तस्वीर कपीराइट na
Image caption पेरिसमा भइरहेको सम्मेलनअघि अमेरिकी विदेशमन्त्री जन केरीले अन्य कतिपय मध्यपूर्वी देशको भ्रमण गरेका थिए।

इस्लामी विद्रोही समुह इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईंमा इराकलाई साथ दिन तीस देशका विदेश मन्त्रीहरुले प्रतिबद्धता जनाएका छन्।

उक्त समूहविरुद्ध लड्ने रणनीतिमा सहमति जनाउन फ्रान्सको पेरिसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरु सहभागी छन्।

एक विज्ञप्ति मार्फत उनीहरुले इराकलाई सैनिक सहायता सहित जुनसुकै माध्यमबाट सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका छन्।

सम्मेलनको उद्घाटन गर्दै फ्रेन्च राष्ट्रपति फ्राँस्वाँ ओलाँदले आइएसलाई एक विश्वव्यापी खतरा भएको र त्यसका निम्ति विश्वव्यापी प्रतिक्रिया जरुरी हुने बताए।

अनुमान

अमेरिकी गुप्तचर संस्था सीआइएका अनुसार आइ एसका साथ सिरिया र इराकमा गरी २० देखि ३१ हजार लडाकू रहेका हुन सक्छन्।

पेरिसको सम्मेलनभन्दा ठिक अगाडि अमेरिकि विदेश मन्त्री जन केरीले मध्य पूर्वका कतिपय देशहरुको भ्रमण गरेका थिए।

सम्मेलनको पूर्वसन्ध्यामा आइएसले एक ब्रिटिश सहायता कार्यकर्ताको हत्या गरेको भीडियो सार्वजनिक गरेपछि त्यसले उक्त समूह विरुद्धका योजनाहरुलाई थप गति दिएको बीबीसी सम्वाददाता लुसी विलियमसनले बताएकी छन्।

सम्मेलनमा सहभागी सबैले आइएस विरुद्ध लड्न सहमति जनाएकोप्रति आफु एकदमै प्रभावित भएको फ्रेन्च विदेशमन्त्री लराँ फाब्युसले बताए।

उनले भने, "भौगोलिक सैद्धान्तिक तथा व्यावहारिक रुपमा विविधता युक्त विश्वका सबभन्दा शक्तिशाली मध्येका ३० राष्ट्रहरु सबैले आइएस विरुद्ध लड्ने प्रतिबद्धता जनाएको देख्दा म प्रभावित भएं, त्यसैले यो एकदमै आशलाग्दो सम्मेलन भएको छ।"

सम्मेलनका सहआयोजक इराकका राष्ट्रपति फुवाद मासुमले जिहादिहरु विरुद्ध विश्व समुदायले चाँडो कारबाही थालि हाल्नुपर्ने बताए।