'संविधान अब प्रकृया अनुसार'

  • 16 सेप्टेम्बर 2014
Image caption नेकपा-माओवादीले सम्मेलन बहिस्कार गरेकोमा सरकारले दुख व्यक्त गरेको छ

संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयासमा सरकारले बोलाएको सर्वदलीय राजनीतिक सम्मेलन नेकपा-माओवादी सम्बद्ध मोर्चाले बहिस्कार गरेपछि अब संविधानसभाले आफ्नो प्रकृया अनुसार संविधान लेखन अघि बढाउने सत्तारुढ दलका नेताहरुले बताएका छन्।

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसँग थप संवाद गर्न आफूहरु तयार रहेको तर अब तत्कालै अर्को सर्वदलीय सम्मेलन आयोजना गर्न नसकिने उनीहरुको भनाई छ।

नेकपा-माओवादीले कार्यसूची र क्षेत्राधिकारसहितका विषयमा पहिलेनै लिखित सहमति नभई आयोजना गरिएको सम्मेलन औचित्यहीन हुने धारणा राख्दै बहिष्कार गरेको जनाएको छ।

नेकपा-माओवादीका दुई प्रतिनिधि सहभागी एउटा चार दलीय कार्यदलले सम्मेलनको मिति तय गरेको थियो।

प्रतीक्षा

संविधानसभाको भवनमा रहेको लोत्से हलमा प्रधानमन्त्री सहित ३० दलका नेताहरुले नेकपा माओवादी र उसको मोर्चाका प्रतिनिधिहरु आउलान् भनेर करिब मध्यान्हसम्म कुरेका थिए।

शान्ति मन्त्रालयको नेतृत्वमा मंगलबार बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म संविधानका अन्तरवस्तुबारे धारणा प्रस्तुत गर्ने र सहमति खोज्ने कार्यसूची निर्धारण गरिएको थियो।

सबैलाई दिवा भोजनको पनि प्रबन्ध सम्मेलनस्थलमै गरिएको थियो।

तर घण्टौंको प्रतीक्षा पछि एक्कासी मोहन बैद्यले प्रधानमन्त्री सुशील कोइरालाई फोन गरी आउन नसक्ने जानकारी गराए।

त्यसको जवाफमा टेलिफोनमा प्रधानमन्त्री कोइरालाले वैद्यलाई भने, “यहाँ धेरै साथीहरु हुनुहुन्छ, दिनभर बस्ने कुरा भएको थियो, मलाई असाध्यै दुख लागेको छ।”

त्यसपछि संविधानसभा भित्रका दलहरुलाई जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले निराश मुद्रामा सम्मेलन स्थगित गरिएको घोषणा गरे।

प्रकृया

सम्मेलन स्थलमा आयोजित पत्रकार सम्मेलनमा कानुनमन्त्री नरहरी आचार्यले अब सर्वदलीय सम्मेलन बहिस्कार गरेको नेकपा-माओवादीलाई नकुर्ने बताए।

उनले भने, “संविधानसभाको चुनाव बहिस्कार गरेको नेकपा-माओवादीको पनि सुझाव आओस् भन्ने हाम्रो अभिप्राय थियो, त्यो सफल हुन सकेन, अब हामी संविधानसभामा भएकाहरु प्रकृयाबाटै अघि बढ्छौँ।”

संविधानका विवादित विषयमा सहमति कायम गर्ने म्याद थप्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राखेको प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा विचाराधीन रहँदै गर्दा सर्वदलीय सम्मेलन डाकिएको थियो।

माघ ८ गते संविधान जारी गर्नलाई असोज १ गते अर्थात बुधबारबाटै पहिलो मस्यौदा लेखन अघि बढाउने संविधानसभाको कार्यतालिकामा उल्लेख छ।

कांग्रेस-एमाले लगायत सत्तापक्षीय दलहरुले संविधानसभाले सहमति नजुटे बहुमतिय प्रकृयाबाट विवदित विषयमा निर्णय गर्दै मस्यौदा लेख्नुपर्ने अडान लिइरहेका छन्।

सर्वदलीय सभा हुन नसके पनि संविधान लेखन प्रकृया अब नरोकिने एमाले अध्यक्ष केपी ओलीले सम्वाददाताहरुलाई बताए।

विवाद

नेकपा माओवादीले संविधानका अन्तरवस्तुबाहेक शान्ति प्रकृया र अन्य राजनीतिक विषयबस्तुहरुमा सर्वदलीय सम्मेलनमा छलफल गरिनुपर्ने अडान राखेको थियो।

तर प्रमुख ३ दलले चाहिँ संविधानका विषयबस्तु बाहेक अन्य मुद्दा वैद्य माओवादी र सरकारसँग छलफल गरेर टुंगोमा पुग्न सकिने धारणा राखेका थिए।

सोहि धारणा लिखितरुपमै दिन नसकिएपछि वैद्य माओवादी विच्किएको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्।

वैद्य माओवादीलाई सहमतिमा ल्याउने कोशिस भने अझै जारी राख्नुपर्ने उनको भनाई थियो।

नेकपा-माओवादीका उपाध्यक्ष सि पि गजुरेलले सहमति जुटे प्रधानमन्त्री कोइराला राष्ट्रसंघीय महासभामा भाग लिएर न्युयोर्कबाट फर्किएपछि सम्मेलन फेरी हुन सक्ने बताए।

उनले भने, “हामीले राम्रो सन्देश दिन सुरुमा लिखित सहमति कायम गरेर सम्मेलन आयोजना गरियोस् भनेका छौँ, हामीले सोमबार बैठक हुन नसकेकोलाई स्थगनको रुपमा लिएका छौँ।”

विगतमा आफैँले माग गरेको सर्वदलीय सभालाई वैद्य माओवादीले बहिस्कार गरेपछि कतिपयले संविधान लेखन प्रकृयामा सामेल हुनसक्ने भन्दै उसले व्यक्त गर्ने गरेको प्रतिबद्धतामा नै प्रश्न उठाएका छन्।

तर कतिपयले चाहीं निर्वाचित संविधानसभा हुँदा हुँदै यस्तो सम्मेलनको उद्देश्य र औचित्य यसैपनि प्रष्ट नभएकाले ढिलो चाँडो यसको नतिजा अहिलेको भन्दा फरक आउन नसक्ने ठानेका थिए।