युक्रेनको नियन्त्रित क्षेत्रमा स्वशासन दिइने

  • 16 सेप्टेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption एप्रिलदेखि युक्रेनको पूर्वी भागमा भएको संघर्षका कारण ३ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

रुस समर्थक विद्रोहीहरुले नियन्त्रण गरेका युक्रेनको पूर्वी क्षेत्रहरुमा स्वशासन दिनेसम्बन्धी विधयेक संसदले अनुमोदन गरेको छ।

गम्भीर अपराधमा संलग्न नभएका विद्रोहीहरुलाई माफी दिने विषय पनि उक्त विधेयकमा समेटिएको जनाइएको छ।

कयौँको ज्यान जाने गरी युक्रेनको पूर्वी भेगमा पांच महिनायता जारी द्धन्द्ध यो विधेयकले अन्त्य गर्ने ठानिएको छ।

गत सेप्टेम्बर ५ मा युक्रेनी सरकार र विद्रोहीहरुबीच बेलारुसमा भएको शान्तिसम्झौता अनुरुप यो विधेयक ल्याइएको बताइएको छ।

माफी

स्वशासनको बाटो खोल्ने उक्त विधयेकले दोनेत्स्क र लुहान्स्क क्षेत्रका विद्रोहीरुलाई माफी दिने विषय पनि समेटेको जनाइएको छ।

कियेभस्थित बीबीसी संवाददाता डेभिड स्टर्नले भने, “रुस समर्थक विद्रोहीहरुलाई तीन वर्षका लागि स्वशासन दिइएको छ, गत जुलाइमा मलेसियाली विमान झारेको लगायतका गम्भीर अपराधमा संलग्न नभएका विद्रोहीहरुले माफी पनि पाउन सक्नेछन्।”

तर मलेसियाली विमान झारेको घटनामा रुस र रुस समर्थक विद्रोहीरुले आफूहरुको संलग्नता अस्वीकार गर्दै आएका छन्।

युक्रेनको पूर्वी भेगमा गत पांच महिनादेखि भएको संघर्षमा कम्तीमा ३ हजार मानिसले ज्यान गुमाएको र ३१ हजारभन्दा बढी विस्थापित भएको राष्ट्रसंघले जनाएको छ।

अनुमोदन

मंगलबार युक्रेन र युरोपेली संसदहरुले औपचारिक रुपमा युरोपली संघ इयुमा युक्रेन आवद्ध हुने सम्झौता पनि अनुमोदन गरेका छन्।

कियेभ र ब्रसेल्ससमा संगसंगै अनुमोदन गरिएको उक्त सम्झौतालाई दुवै पक्षले ऐतिहासिक भनी टिप्पणी गरेका छन्।

पूर्व राष्ट्रपति भिक्टोर यानुकोभिचले उक्त सम्झौतामा हस्ताक्षर गर्न नमानेपछि युक्रेनमा व्यापक विरोध प्रदर्शन भएको थियो र अन्तत उनी सत्ताबाट बाहिरिएका थिए।

त्यसपछि युक्रेनबाट क्राइमिया टुक्रियो भने पूर्वी क्षेत्रहरुमा लडाइ सुरु भयो जसका कारण युक्रेन लामो संकटमा धकेलियो।