आइएसविरुद्ध अमेरिकाद्वारा नयाँ आक्रमण

  • 16 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption लक्षित हवाई आक्रमणले इस्लामिक स्टेट विद्रोहीका अखडाहरु ध्वस्त पार्ने अमेरिकी सेनाको दाबी छ

इस्लामिक स्टेट विद्रोहीविरुद्ध लड्ने नयाँ रणनीतिअनुरुप इराकमा सरकारी फौजसँग मिलेर हवाई आक्रमण शुरु गरिएको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी सेनाका अनुसार माउण्ट सिन्जार र दक्षिण-पश्चिमी बगदादमा इस्लामिक स्टेट विद्रोही लडाकुहरुविरुद्ध आईतबार र सोमबार आक्रमण गरिएको छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले गतसाता सार्वजनिक गरेको बृहत्त योजनाअन्तर्गत पहिलोपटक पछिल्लो आक्रमण गरिएको बताईएको छ।

मानवीय सहायता कार्यक्रमलाई सघाउन र अमेरिकीहरुलाई पनि सुरक्षा गर्ने उद्देश्यका साथ लक्षित हवाई आक्रमण गर्ने ओबामाले घोषणा गरेका थिए।

अखडा

विद्रोही लडाकुविरुद्धको आक्रमणपछि सुरक्षित रुपमा लडाकु जेटहरु उक्त क्षेत्रबाट फर्किएको अमेरिकी सेनाले वक्तव्यमार्फत जनाएको छ।

पछिल्ला हवाई आक्रमणबाट सिन्जार नजिकै इस्लामिक स्टेट विद्रोहीका ६ वटा सवारीसाधन नष्ट भएको र दक्षिण-पश्चिमी बगदादस्थित विद्रोहीहरुको एउटा अखडा पनि ध्वस्त पारिएको बताईएको छ।

अधिकारीहरुका अनुसार गत अगस्त महिनायता अमेरिकी सेनाले इराकमा हालसम्म १ सय ६२ वटा हवाई आक्रमण गरिसकेको छ।

विद्रोही लडाकुहरु भएकै स्थानमा लक्षित कारवाही गर्ने राष्ट्रपति ओबामाको निर्णय बमोजिम पछिल्लो आक्रमण भएको देखिएको बताईएको छ।

आलोचना

पछिल्ला हवाई आक्रमणहरु इराकमा अमेरिकी स्वार्थको रक्षा गर्न र शरणार्थी तथा पूर्वाधारहरुलाई सुरक्षा दिनका लागि भएको अधिकारीहरु बताउँछन्।

इस्लामिक स्टेट विद्रोहीले इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा जमाएका छन्।

यसैबीच, इस्लामिक स्टेट विद्रोहीबारे पेरिसमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा इरानलाई निम्तो नगरेकोमा इराकले पश्चिमा मुलुकहरुको आलोचना गरेको छ।

इराकी विदेशमन्त्री इब्राहिम अल-जफारीले उक्त कदम उनकै शब्दमा दुर्भाग्यपूर्ण भएको बताए।

इस्लामिक स्टेट विद्रोहीविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनमा सहभागी हुन ३३ मुलुकले प्रतिबद्धता जनाएका छन्।