'सहमतिको खोजी र मस्यौदा लेखन सँगसँगै'

  • 17 सेप्टेम्बर 2014
Image caption संविधानसभा कार्यतालिका अनुसार असोज मसान्तसम्म संविधानको पहिलो मस्यौदा तयार गरिसक्नुपर्छ।

नयाँ संविधानको पहिलो मस्यौदा असोज मसान्तसम्म तयार गरिसक्नुपर्ने समय सीमामा कुनै फेरबदल नगरिने गरी विवादित विषय हल गर्ने गरी म्याद थप्ने तयारी भइरहेको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताएका छन्।

संविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले विवादित विषयमा सहमति जुटाउने काम र संविधान मस्यौदा समितिले मस्यौदा लेखनको काम एक साथ अघि बढाउने उनले बताए।

बिहीबार बस्ने संविधानसभाको बैठकले माघ ८ गते संविधान जारी गर्ने मूल कार्यतालिका प्रभावित नहुने गरी संवाद समितिलाई संविधानका बाँकी विषयमा सहमति कायम गर्न केही समय थप्ने तयारी भइरहेको छ।

संवाद तथा सहमति समितिले विवादित विषयमा सहमति जुटाउन केही समय उपलब्ध गराउन माग गर्दै प्रस्तुत गरेको प्रतिवेदनमा बुधबार तेश्रो दिन सहित अहिलेसम्म १ सय ६२ जना सभासदले आफ्नो मत राखिसकेको संविधानसभा सचिवालयले जनाएको छ।

अडान

त्यसक्रममा सत्तापक्षीय सभासदहरुले संवाद समिति मार्फत अन्तिम पटक सहमति जुटाउने कोशिस गर्नुपर्ने र अब पनि सहमति नभए संविधानसभाको पूर्ण बैठकबाट विवादित विषयमा निर्णय गर्नुपर्ने धारणा राखिरहेका छन्।

तर एकीकृत माओवादी र तराइ केन्द्रित दलका नेताहरुले प्रकृया तत्काल थाल्न भन्दा पनि सहमतिमा संविधान जारी गरिनुपर्ने अडान प्रस्तुत गरिरहेका छन्।

बिहीबार अन्तिम दिनको छलफल गरेर संविधानको पहिलो मस्यौदा तयार पारिसक्ने असोज मसान्तको समयसीमामा फेर बदल नहुने गरी कार्यतालिका हेरफेर सम्बन्धी निर्णय गरिने सभाध्यक्ष सुवास नेम्वाङले बीबीसीलाई बताए।

उनले भने, “माघ ८ गते संविधानजारी गर्ने गरी असोज मसान्तसम्म पहिलो मस्यौदा तयार गरिसक्ने गरी छलफल भइरहेको छ।”

मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीसँग गर्ने भनिएको सर्वदलीय राजनीतिक सम्मेलन मंगलबार अवरुद्ध भएपछि सत्तारुढ दलका नेताहरुले संविधानसभाले आफ्नो निर्धारित प्रकृया अनुसार काम अघि बढाउने बताएका थिए।

लक्ष्य

संविधानसभाबाट पारित कार्यतालिका अनुसार सहमति भएका विषयहरुका आधारमा संविधान मस्यौदा समितिले बुधबारबाट निरन्तर मस्यौदा लेखनको काम अघि बढाउने र असोज मसान्तसम्म पहिलो मस्यौदालाई राजपत्रमा प्रकाशन गरिसक्ने लक्ष्य राखेको थियो।

शासकीय स्वरुप, राज्य पुनर्संरचनालगायत पेचिला मुद्दाहरुमा प्रमुख दलहरुबीच सहमति नजुटेपछि कार्यतालिका अनुसार काम अघि बढ्नेमा आशंकाहरु बढ्न थालेका छन्।

तर अब दुवै समितिले एकसाथ काम अघि बढाउने सभामुख नेम्वाङले बताए।

उनले भने, “सहमतिको विषयलाई मस्यौदा समितिमा पठाउने र असहमतिलाई नियममै उल्लेख भएकोले अब एकपटक संवाद समितिमै पठाउँ भन्ने तर्क आएको छ, समानान्तर ढंगले जाउँ भन्ने कुरा उठेकोले त्यसलाई ध्यानमा राखेर संविधानसभाले निर्णय गर्छ। ”

दोस्रो संविधानसभाका पछिल्ला गतिविधिहरु एकीकृत माओवादीका नेता बाबुराम भट्टराईको नेतृत्वमा रहेको संवाद समितिमा केन्द्रित रहँदै आएकोमा कार्यतालिका परिवर्तन भएपछि नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला नेतृत्वको संविधान मस्यौदा समिति पनि साथसाथै सक्रिय हुन लागेको हो।

संसदको निरन्तर अवरोध लगायतका कारण पछिल्ला दिनमा सत्तापक्षीय र प्रतिपक्षी दलहरुबीच बढ्दै गएको अविश्वासका माझ दुवै समितिलाई विवादहरु किनारा लगाउँदै तोकिएको म्यादमा पहिलो मस्यौदा तयार गरिसक्ने जिम्मेवारी पुरा गर्न कठिन हुने धेरैको आकंलन छ।