सुरक्षा मामिलाबारे सार्क क्षेत्रीय बैठक

  • 17 सेप्टेम्बर 2014
सार्क चिन्ह तस्वीर कपीराइट BBC Bangla
Image caption सार्क देशका अधिकारीहरुबीच क्षेत्रीय सुरक्षा र अन्य साझा मामिलाहरुमा बुधबारदेखि काठमान्डुमा छलफल सुरु हुंदैछ

आतंकवाद, लागूऔषध ओसारपोसार, मानव बेचविखन, विद्युतीय अपराध लगायतका मुद्दाका साथै क्षेत्रीय भिसाको दायरा विस्तार गर्नेबारे सार्क सदस्य मुलुकका उच्चअधिकारीहरुबीचको तीन दिने छलफल केन्द्रित रहने अधिकारीहरुले बताएका छन्।

पहिलो दिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका आठ वटै सदस्य मुलुकका उच्च अध्यागमन अधिकारीहरु छलफलमा जुट्दैछन्।

सार्कका सदस्य राष्ट्रहरुमा जान बेग्लाबेग्लै प्रवेशाज्ञाको झन्झट गर्नु नपर्ने सार्क भिसा स्टिकरको दायरा फराकिलो बनाउन उक्त छलफल केन्द्रित रहने जनाइएको छ।

‘सार्क भिसा’

अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले कूटनीतिज्ञ, उच्चसरकारी अधिकारीहरु तथा सार्क सचिवालयका कमर्चारीहरुले प्राप्त गर्दै आएको त्यस्तो प्रवेशाज्ञा अबदेखि खेलुकद र उद्योग व्यवसायका ख्यातिप्राप्त व्यक्तिलाई पनि दिने तयारी भएको बताए।

“खेलाडीहरु र व्यापारीहरुलाई पनि त्यो सुविधाको निम्ति थप्नेबारे छलफल गर्ने कुरा भएको छ।”

दोस्रो दिन भने गृहसचिवस्तरीय वार्ता हुनेछ जहां क्षेत्रीय सुरक्षासंग सम्बन्धित मामिलाले प्रवेश पाउने अधिकारीहरुको भनाइ छ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने –“आतंकवाद, लागूऔषध ओसारपसार, मानव वेचविखन आदी विषयमा छलफल गरेर वैठकपछि साझा प्रतिवध्दता आउछ।”

उक्त बैठकले टुंग्याएका विषयलाई पर्सि बस्ने गृहमन्त्रीस्तरीय वार्ताले अनुमोदन गर्ने अधिकारीहरुले जनाएका छन्।

आतंकवादी संगठन अल कायदाले दक्षिण एसियामा आफ्नो शाखा खोल्ने योजना सार्वजनिक गरेको केही साता नबित्दै हुन लागेको सार्क गृहमन्त्रीस्तरीय भेलालाई महत्वका साथ हेरिएको छ।

तर एउटा सदस्य राष्ट्र पाकिस्तानका गृहमन्त्री आउने, नआउनेबारे अझै अन्योल नै छ जुन विषयलाई हालै नयां दिल्ली र इस्लामावादबीच चिसिएको सम्बन्धको उपजका धेरैले अर्थाएका छन्।