इबोला विश्वव्यापी सुरक्षा खतरा: ओबामा

  • 17 सेप्टेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption राष्ट्रपति ओबामाले पश्चिम अफ्रिकाको इबोला महामारी नियन्त्रण गर्न अमेरिकी भूमिका बढाउने घोषणा गरेका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामाले पश्चिम अफ्रिकाको इबोला महामारी विश्वव्यापी सुरक्षालाई खतरा भन्दै उक्त भाइरस विरुद्धको लडाइमा अमेरिकी भूमिका बढाउने घोषणा गरेका छन्।

सारा संसारले अमेरिकातर्फ हेरिरहेको छ भन्दै ओबामाले इबोला महामारी नियन्त्रणका लागि विश्वव्यापी संलग्नता आवश्यक रहेको बताए।

यो वर्ष मात्रै इबोलाबाट पच्चीस सय जतिको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

राष्ट्रपति ओबामाले उक्त क्षेत्रमा ३ हजार अमेरिकी सेना खटाइने र नयाँ स्वास्थ्य उपाचार केन्द्रहरु बनाउने घोषणा गरेका छन्।

स्वास्थ्य संकट

संयुक्त राष्ट्र संघीय अधिकारीहरुले इबोला महामारीलाई आधुनिक समयको तुलना हुनै नसक्ने स्वास्थ्य संकट भनेका बेला ओबामाको यो घोषणा आएको हो।

गत महिना मात्रै यो रोगसँग जुझ्न आवश्यक रकम दश गुणा बढेको भन्दै राष्ट्र संघका इबोला संयोजकले महामारीसँग लड्न एक अर्ब डलर आवश्यक परेको बताएका छन्।

ओबामाले मंगलबार गरेको घोषणामा लाइबेरियामा १७ वटा स्वास्थ्य उपचार केन्द्र बनाउने र हरेक केन्द्र संक्रमितलाई एक्लै राखेर उपचार गर्ने निगरानी केन्द्रसहितका १ सय सैय्याको हुने भनिएको छ।

हरेक हप्ता पाँच सय जति स्वास्थ्य कर्मीलाई तालिम दिने, प्रभावित मुलुकहरुमा सुविधा उपलब्ध गराउन हवाइ सेतु बढाउने र घरमा प्रयोग गर्न स्वास्थ्य उपचार सामाग्रीहरु दिने पनि घोषणा गरिएको छ।

संक्रमण

तस्वीर कपीराइट na
Image caption सहयोग घोषणा गर्नु अघि ओबामाले इबोलाबारे डाक्टरहरुको बयान सुनेका थिए

ओबामाले भनेका छन्, इबोलाको प्रकोपले पश्चिम अफ्रिकामा महामारीको रुप लिइसकेको छ त्यहाँका अस्पतालहरु भरिइसकेका छन् । मानिसहरु साँचै नै सडकमा मर्नु परिरहेको छ।

उनी भन्छन्, “यो नियन्त्रण बाहिर जान खोजिरहेको छ। नियन्त्रण बिग्रदो छ। यो द्रुत गतिमा फैलिरहेको छ। आज पश्चिम अफ्रिकामा हजारौं मानिसहरु संक्रमित छन् र त्यो संख्या छिटै दशौं हजार हुन सक्छ। यदि संक्रमण अहिले रोक्न सकेनौं भने हजारौं हजार मानिसहरु संक्रमित हुन सक्छन् त्यसले हामी सबैलाई राजनीतिक, आर्थिक र सुरक्षामा प्रभाव पार्नेछ।”

स्वास्थ्य सम्बन्धी परोपकारी संस्था मेडसाँ साँ फ्रतियले अमेरिकाले जस्तै अरु मुलुकले पनि इबोला महामारीसँग जुझ्न अग्रसर हुनुपर्ने बताएको छ।

फ्रतियकी प्रमुख जोआन लियुले भनिन्- इबोलाविरुद्ध एउटा बलियो नेतृत्व अन्तर्गत संगठित अग्रसरता आवश्यक छ।

नियन्त्रण

उनले भनिन्, यो रोग नियन्त्रणको बाटो बन्द हुँदैछ। हामी अरु मुलुकहरु पनि जागुन् भन्ने चाहन्छै। हामी थप तैनाथी चाहन्छौं र त्यो तत्काल चाहन्छौं ।

मंगलबार विश्व स्वाथ्य संगठनले चिनको घुम्ती प्रयोगशाला सियरा लियोन पठाउने प्रतिबद्धताको स्वागत गरेको थियो।

विश्व स्वास्थ्य संगठन प्रमुख मार्गरेट चानले इबोला महामारीको तत्कालको आवश्यकता प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी उपलब्ध गराउनु हो भनेकी छन्।

इबोला नजिकको संसर्गबाट सर्छ तर यसको उपचार छैन र खोप पनि बनिसकेको छैन।

यो पहिले गिनिमा शुरु भएको थियो र छिमेकी सियरा लियोन र लाइबेरियामा फैलिएको थियो।