अष्ट्रेलियामा 'आतंकवादविरुद्ध कारवाही’

  • 18 सेप्टेम्बर 2014
तस्वीर कपीराइट police
Image caption कारवाहीबारे विस्तृत विवरण बिस्तारै सार्वजनिक गरिने अधिकारीहरुले बताएका छन्

बढ्दो सुरक्षा चासोमाझ आतंकवादविरुद्ध देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो कारवाहीका क्रममा सिडनी र ब्रिसबेनबाट कयौं मानिसहरुलाई पक्राउ गरिएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ।

भारी हतियारसहित ६ सयभन्दा बढी प्रहरी अधिकारीहरुले ती दुई सहरमा छापा मारेको बताईएको छ।

उक्त कारवाही जारी रहेको भन्दै प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन्।

प्रहरीले सिडनीको पश्चिमी भाग र ब्रिसबेनको दक्षिणी क्षेत्रमा छापा मारिएको जनाएको छ।

कारवाहीका क्रममा पक्राउ गरिएका मानिसहरुको संख्याबारे बोल्न अधिकारीहरुले अस्वीकार गरेका छन्।

यद्यपि बिहिबार अबेरसम्म थप विवरणहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ।

खतरा

गत साता अष्ट्रेलियाले आतंकको खतरा मध्यम स्तरबाट उच्च तहमा पुगेको घोषणा गरेको थियो।

इराक र सिरियामा जारी द्वन्द्वलाई लिएर देशभित्र बढ्दो चिन्तासँगै अष्ट्रेलियाले त्यस्तो घोषणा गरेको बताईएको छ।

छुट्टै प्रसंगमा सिडनीमा एउटा चर्च नजिक इस्लामिक स्टेट विद्रोहीको झण्डा भएको कारमा सवार मानिसहरुबाट ज्यान मार्ने धम्की सुनिएको सिडनी मर्निङ हेराल्डले जनाएको छ।

कारमा सवार मानिसहरुले ईसाईहरुलाई मार्ने धम्की दिएको एकजना स्थानीय पादरीले बताए।

इस्लामिक समूहहरुबाट प्रेरित हुने वा उनीहरुसँग काम गर्ने अष्ट्रेलियाका मानिसहरुको संख्या बढ्दै गएको भन्दै गत साता प्रधानमन्त्री टोनी एब्बटले खतराको स्तर बढेको घोषणा गरेका थिए।

आतंकवादी

तर त्यसो गर्नुको अर्थ देशमा आतंकवादी आक्रमण हुन लागेको नभएको उनले बताएका थिए।

अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कयौं संख्यामा अष्ट्रेलियाका नागरिकहरु पनि इस्लामिक स्टेट लगायतका विद्रोहीहरुसँग लड्नका लागि मध्यपूर्व पुगेका छन्।

उनीहरु स्वदेश फर्किएपछि घरेलु सुरक्षामा खतरा उत्पन्न हुने अधिकारीहरुको भनाई छ।

उत्तरी इराक र सिरियामा कम्तीमा अष्ट्रेलियाका ६० जना नागरिकहरु विद्रोही समूहमा मिलेर लडाइ गरिरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्।