चीन, भारतबीच आर्थिक संझौता

  • 18 सेप्टेम्बर 2014
राष्ट्रपति शी तथा प्रधानमन्त्री मोदी तस्वीर कपीराइट
Image caption प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपतिलाई आफ्नो गृहराज्य गुजरातमा स्वागत गरेका थिए

चीनका राष्ट्रपति शी जीनपींग र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचका सीमा विवाद समाप्त पार्न जरुरी रहेकोमा जोड दिंदै ठूला आर्थिक सम्झौताहरुको घोषणा गरेका छन्।

चिनियाँ राष्ट्रपतिको भारत भ्रमणको अवसरमा घोषित योजनाहरु अन्तर्गत आगामी पांच बर्षभित्र चीनले भारतमा अर्बौं डलर लगानी गर्ने भएको छ।

भारत र चीनबीच १२ वटा विभिन्न सहमतिहरुमा हस्ताक्षर भएका छन्‌।

ती मध्ये एउटा सहमति अनुसार चीनले भारतीय पूर्वाधारहरुमा २० अर्ब डलर लगानी गर्नेछ।

दिल्लीमा वार्तापछि चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीले बेग्लाबेग्लै वक्तव्य जारी गरेका थिए।

लगानी

भारतमा लगानी गर्ने प्रतिबद्धताका विषयहरुमा मुख्यत: भारतको पुरानो हुंदै गएको रेलवे प्रणालीलाई द्रुत गतिको सेवामा परिणत गर्न सुधार गर्ने, गुजरात र महाराष्ट्रमा औद्योगिक ग्राम स्थापना गर्ने र औषधि तथा कृषि उत्पादन लगायतका वस्तुहरुको बजारमा भारतलाई पहुंच दिने कुराहरु रहेका छन्।

भारत र चीनबीच व्यापार, अन्तरिक्ष अन्वेषण र गैरसैनिक प्रयोजनको परमाणु उर्जाको क्षेत्रमा आपसी सहयोग बढाउने पनि कुरा भएको छ।

लद्दाखमा नयां अतिक्रमण गरेको भनी भारतले चीन माथि आरोप लगाएको बेला ती दुई देशका नेताहरुबीच विहीबार वार्ता भएको थियो।

बीबीसीका संवाददाता संजोय मजुमदार भन्छन्, उक्त विवादित सिमानामा चिनीयां र भारतीय सैनिकहरुबीच भएको मुठभेडका समाचार भारतीय संचारमाध्यमहरुमा प्रमुखताका साथ प्रस्तुत ‌ गरिएको थियो।

केहीले त यहि कारणले नै दुई देशबीचको वार्ता भंग हुन सक्ने सम्मको आंकलन गरेका थिए तर स्थिति त्यस्तो रहेन।

आह्वान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै देशबीचको विवादित साझा सीमा सम्बन्धी समस्या छिटै समाधान गर्न आह्वान गरेका थिए।

राष्ट्रपति शीले पनि सीमा समस्या छिटोभन्दा छिटो समाधान हुनु पर्नेमा सहमति जनाएका बताइएको छ।

उनले दुई देशबीचको सिमाना स्पष्ट रुपमा सिमांकन नगरिएका कारण त्यस्तो मुठभेडका घटना हुने गरेको भन्दै त्यस्तो घटनाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर नपार्ने बताए।

सिमाना बारेको मुद्दाले दुई देशबीच तनाव बढाउने गरेको भएतापनि भारत र चीनबीचको ‌वार्षिक ब्यापार बढेर झण्डै सत्तरी अर्ब डलर पुगेको छ। तर चीन संग भारतको व्यापार घाटा दश बर्ष अघि एक अर्बको हाराहारीमा रहेकोमा हाल वार्षिक ४० अर्ब पुग्न गएको छ।