स्कटल्याण्डको जनमतसंग्रहमा मतदान शुरु

  • 18 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption स्कटल्याण्डका ३२ वटै स्थानीय निकायहरुमा मतदान र मतगणना गरिनेछ

तीन सय वर्षको इतिहासमा पहिलोपटक स्कटल्याण्ड ब्रिटेन अन्तर्गत रहने कि स्वतन्त्र राज्य बन्ने भनेर हुन लागेको जनमत संग्रहका लागि मतदान केन्द्रहरु खुलेका छन्।

मतदाताहरुले के स्कटल्याण्ड स्वतन्त्र मुलुक हुनुपर्छ? भन्ने प्रश्नको 'हुन्छ' र 'हुँदैन' भन्ने जवाफमा मत हाल्नेछन्।

४२ लाख ८५ हजार तीन सय तेइस मानिसले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् जुन मत दिन पाउने उमेर जनसंख्याको ९७ प्रतिशत हो।

मतदान गर्नेको संख्या ऐतिहासिक रुपमा उच्च हुने अपेक्षा छ।

मतगणना

बिहान सात बजे शुरु भएको मतदान बेलुका १० बजेसम्म चल्नेछ।

२६ सय ८ मतदान केन्द्रहरुमा मतदान हुनेछ।

परिणाम शुक्रबार विहानसम्म आइपुग्ने अपेक्षा राखिएको छ।

स्कटल्याण्डका ३२ स्थानीय निकायहरु हरेकमा मतगणना गरिनेछ।

Image caption जनमतसंग्रमा उच्च संख्यामा मतदाता सहभागी हुने अपेक्षा छ

हुलाक मार्फत ७ लाख ८९ हजार २४ मत खसाउन आवेदन परेको छ।

हुलाक मार्फत मत हाल्न पनि यसपटक स्कटल्याण्डको इतिहासमा सबभन्दा ठूलो संख्यामा आवेदन परेको थियो।

परिणाम

हरेक क्षेत्रका मतगणना गर्ने अधिकारीले त्यसको परिणाम एडिनबरास्थित मुख्य गणना अधिकारी मेरी पीटकेथलीलाई दिनेछन्।

उनको अनुमतिमा ति अधिकारीहरुले परिणाम घोषणा गर्नेछन्।

३२ वटै स्थानीय निकायको परिणाम प्राप्त भइसकेपछि पीटक्याथलीले जनमत संग्रहको परिणाम रोयल हाइल्याण्ड सेन्टरमा घोषणा गर्नेछिन्।

Image caption जनमतसंग्रहको परिणाम शुक्रबार विहानसम्म आइसक्ने बताइसकिएको छ

पीटक्याथलीले शुक्रबार ब्रेकफाष्ट समयमा परिणाम घोषणा गर्ने बताएकी छन्।

कतिपय दुर्गम क्षेत्र र खराब मौसमका कारण मतपेटिका प्राप्त हुन ढिलाइ हुन सक्ने र त्यसले कुल परिणाम घोषणा गर्न समय लाग्न सक्ने बताइएको छ।

हेलिकप्टर र डुंगाबाट पनि मतपेटिका ओसारिने बताइएको छ।

बीबीसीका विभिन्न च्यानलहरुले रातभरी नै प्रत्यक्ष प्रसारण गर्नेछन्।

यसले परिवार र साथीभाइमा विभाजनबारे गम्भीर बहस शुरु भएको छ।