प्रधानमन्त्री कोइराला आज अमेरिका जाने

  • 19 सेप्टेम्बर 2014
संविधान सभा
Image caption कोइरालाको अनुपस्थितिले संसदीय एवं राजनीतिक गतिरोध लम्बिने चिन्ता कतिपयले व्यक्त गरेका छन्

प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै आफ्नो स्वास्थ्यको जाँच समेत गर्ने अधिकारीहरुले बताएका छन।

करिब २ महिनाअघि मात्रै एक महिना लामो क्यान्सरको उपचार सकेर फर्किएका कोईराला यसपाली दश दिनपछि स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।

संविधान निर्माणको चटारो तथा संसदभित्र प्रतिपक्षसंग तनाव जारी रहेका समय उनको अनुपस्थितिले गतिरोध लम्बिने चिन्ता कतिपयले व्यक्त गरेका छन्।

राष्ट्रसंघीय महासभालाई १० गते सम्बोधन गर्न न्यूयोर्क पुग्नुअघि उनले खाडी मुलुकस्थित नेपाली राजदूतहरुसँग अबुधाबीमा भेटी त्यहाँ रहेका नेपालीका समस्याबारे जानकारी लिने कार्यक्रम छ।

न्यूयोर्कमै रहंदा कोइरालाले दक्षिण एसियाली देशका सरकार तथा राष्ट्रप्रमुखहरुसंग छलफल गर्नुका साथै राष्ट्रसंघीय जलवायु परिवर्तन शिखर सम्मेलनमा पनि भाग लिने उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भटराईले बताए।

उनले भने “प्रधानमन्त्रीको सार्क राष्ट्रका नेताहरु सँग भेटघाटको कार्यक्रम छ। समय र तालिका त्यहाँ रहेको कार्यालयले मिलाउने काम गरिरहेको छ।"

न्यूयोर्कमै रहंदा प्रधानमन्त्रीले विगतमा आफ्नो क्यान्सर उपचार भएको अस्पतालमा नियमित स्वास्थ्य जांच गराउनेछन्।

अपुरै

असारमा उपचारका क्रममा १ महिनाभन्दा बढी समय त्यहां बसेका उनले नेपाल फर्किएर रोकिएका केही कामको शुरुवात गरेपनि ती अपुरै छन्।

संविधानसभामा मनोनयन गर्नुपर्ने २६ सभासदमध्ये १८ जनाको मात्र मनोनयनको काम भएको छ भने केही देशका राजदुत नियुक्तिको काम बाँकी नै छ।

राष्ट्रिय मानवअधिकार आयोगबाहेकका संवैधानिक आयोगहरुले पनि पुर्णता पाउन सकेनन्।

पुर्व मुख्य सचिव विमल कोइरालाले अब प्रधानमन्त्री नफर्किएसम्म ती सबै काम रोकिने बताए।

उनले भने “कि उहाँले मन्त्रिपरिषद्ले निर्णय लिनुहोस मेरो सहमति छ भनेर जानुपर्यो, हैन भने सबै रोकिन्छन।"

प्रधानमन्त्री अमेरीका जाँदै गर्दा संसद अवरुद्ध छ भने गर्ने भनिएको सर्वदलीय सम्मेलन पनि अन्तिम समयमा नहुंदा राजनीतिक गतिरोध कायमै छ।

प्रधानमन्त्रीको कार्यतालिकामा हेरफेर नभए प्रधानमन्त्री कोइराला असोज १३ गते नेपाल फर्किनेछन जतिखेर दशैको सार्वजनिक विदा शुरु भईसकेको हुनेछ।