'सरकार गठनबारे अफगानिस्तानमा सहमति'

  • 20 सेप्टेम्बर 2014
kerry तस्वीर कपीराइट AP
Image caption अमेरिकी विदेशमन्त्री जोन केरीले अफगानिस्तानका दुई प्रतिद्वन्द्वीबीच सहमतिको प्रयास गरेका थिए

अफगानिस्तानको विवादस्पद राष्ट्रपतीय निर्वाचनका दुई जना प्रतिद्वन्द्वीहरुले राष्ट्रिय एकताको सरकार गठन गर्नेसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिएका छन्।

उक्त चुनावमा मतदान सकिएको तीन महिनापछि भएको यो सम्झौताले केही समययता त्यहां जारी राजनीतिक गतिरोध अन्त्य गर्ने ठानिएको छ।

सहमति

राष्ट्रपतीय निर्वाचनका एक प्रत्यासी अब्दुल्लाह अब्दुल्लाहका प्रवक्ताका अनुसार उनले आफ्ना प्रतिद्वन्द्वी असराफ गनीलाई राष्ट्रपतिका रुपमा स्वीकार गर्ने छन्।

बदलामा अब्दुल्लाहले प्रधानमन्त्रीको जस्तै अधिकार रहने प्रमुख कार्यकारी मनोनित गर्नेछन्।

तर चुनावको परिणाम अघि वा पछि राष्ट्रिय सरकार घोषणा गर्ने भन्नेमा दुवै पक्षबीच अझै कुरा मिल्न सकेको छैन।

अफगानिस्तानस्थित बीबीसी संवाददाता डेभिड लोयन भन्छन्, "अब्दुल्लाहले चुनावको अन्तिम परिणाम घोषणाविनानै राष्ट्रिय एकता सरकारको घोषणा गर्नुपर्छ भन्ने धारणा राखेका छन्। तर गनीले अफगानिस्तानको संविधान अनुसार हुनुपर्ने भन्दै परिणाम घोषणापछि मात्रै आफुलाई राष्ट्रपति घोषणा गरिनुपर्ने र त्यसपछि आफुले राष्ट्रिय एकताको सरकार बनाउने बताएका छन्।"

विवाद

परिणामअघि नै सरकार घोषणा नगरिए सडक आन्दोलनमा जाने चेतावनी पनि अब्दुल्लाहका समर्थकहरुले दिएका छन्।

गत अप्रिलमा भएको पहिलो चरणको निर्वाचनमा अब्दुल्लाह अगाडि थिए।

तर उनले बहुमत नपाएपछि जुनमा दोस्रो चरणको निर्वाचन भयो र त्यसमा गनी अगाडि देखिए।

त्यसयता दुबै पक्ष चुनावमा धांधली भएको भन्दै आरोप प्रत्यारोपमा उत्रिएपछि समस्या समाधानका लागि अमेरिका अग्रसर भएको थियो।