एसियाली खेलकुद र नेपाल

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption सेप्टेम्बर १९ तारिखमा इन्चोन शहरमा सत्रौं एशियाली खेलकुदको भव्य उदघाटन भएको थियो

एसिया महादेशको सवैभन्दा ठुलो खेलकुद प्रतियोगिताको रुपमा स्थापित एसियाली खेलकुदको १७ औं संस्करण यहि सेप्टेम्वर १९ देखि अक्टोबर ४ सम्म दक्षिण कोरियाको शहर इन्चोनमा भैरहेकोछ।

पूर्वाधार र प्रतियोगिता आयोजनाको लागि आयोजक इन्चोन शहरले झन्डै २ अर्व अमेरिकी डलर खर्च गरेको यो खेलकुद मेलामा एसियाका ४५ राष्ट्रका खेलाडी पदाधिकारी पत्रकार निर्णायक गरी झन्डै २० हजारको सहभागिता छ।

भाइचारा

३६ खेलका झन्डै ४३९ इभेन्टसमा एसियाका अब्बल खेलाडीहरुबीच हुने भिडन्तले एसियाली राष्ट्रहरुबीच भाइचाराको सम्वन्ध स्थापना हुने विश्वासका साथ सन् १९५१ बाट एसियाली खेलकुद प्रतियोगिताको शुरुवात भएको थियो।

सन् १९५१ मा पहिलो प्रतियोगता भारतको नयां दिल्लीमा भएको थियो।

एसियाली खेल अभियान १७ औं संस्करणसम्म आइपुग्दा दक्षिण कोरियाले यो प्रतियोगिताको आयोजना गरेको यो तेस्रो पटक हो।

यसअघि सन् १९८६ मा सोल र सन् २००२ मा बुसान शहरले एसियाली खेलकुदको आयोजना गरेका थिए।

नेपालले यसपाली २४ खेलमा २ सय भन्दा वढी खेलाडीहरुका साथ सहभागिता जनाइरहेको छ।

तस्वीर कपीराइट AP

सहभागिता

नेपाली टोलीको यो अहिलेसम्मको सबैभन्दा व्यापक सहभागिता हो।

पहिलो संस्करण देखि नै नेपालले प्रतियोगितामा सकृयतापुर्वक सहभागिता जनांउदै आएको छ।

यद्यपी सन् १९५४ र १९६२ को दुई संस्करणमा भने नेपालको सहभागिता छुटेको थियो ।

यसपाली प्रतियोगितामा सहभागिता जनाउन नेपाल सरकारले झन्डै ६ करोडको वजेट छुट्याएको छ।

केही विवादका माझ नेपालले खेलाडीहरुलाई झन्डै २ महिना विशेष प्रशिक्षणमा समावेश गरेको थियो।

नेपालले एसियाडमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेपनि रजत र काश्य गरी १७ जना खेलाडीहरुले पदक जितेका छन्।