एसियाडमा नेपाल सहभागी नयां खेलहरु

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट asiad

१७ औं एसियाली खेलकुदमा नेपालले प्रतिस्पर्धा गर्ने २५ वटा खेलमध्ये पहिलो पटक सहभागिता जनाउन लागेका खेलका खेलाडीहरुले एसियाली खेलको प्रतिस्पर्धा मार्फत नयां खेलको पहिचान बढाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन कम मात्र अवसर पाउने भनिएका यी खेलहरु नेपाली खेलकुदका पनि नौलो खेलहरु छन् ।

दक्षिण एसियाली स्तरमै अहिलेसम्म कुनै प्रतियोगिता नखेलेको महिला बास्केटबलले एकैचोटी एसियाली खेलकुद खेल्न पाउने भएपछि दंग परेकी टिम क्याप्टेन सदिना श्रेष्ठ भन्छिन् औ साफ मै खेल्नेबारे सोचिएको थिएन ।

एकैपटक एसियाली खेलकुदमा खेल्न पाइने भो । यो हाम्रो लागि एकदमै असोचनिय हो । यो सपना जस्तै हो ।

महिला बास्केटबल

नेपाल बास्केटबल संघले पनि पुरुष टोलीको नाम हटाई महिला बास्केटबल टिमलाई प्रतियोगितामा समावेश गरेको हो । महिला बास्केटबललाई उकास्न यस्तो निर्णय लिएको बताउछन् संघका अध्यक्ष लामा टेन्डी शेर्पा, "पुरुषहरुले धेरै मौका पाइसकेको छ । त्यसैले हामीले महिलालाई अगाडी सारेका छौं । फेरी भोली पदकको सम्भावना सूचीमा महिलाको सम्भावना मैले देखेको छु ।"

दुई हप्ता लामो समय चल्ने एसियाली खेलकुदमा नेपालले भाग लिने २५ खेलहरुमा महिला बास्केटबल, महिला आर्चरी, सेपाक ताक्रो, ट्रायथलोन र फेन्सिङ रहेका छन् ।

पहिलो पटक सहभागी बन्न लागेको महिला आर्चरी अर्थात धनुषबाणका खेलाडी मोनिका रानामगर भन्छिन्- दुई वर्ष अगाडी मात्रै मैले आर्चरी खेल्न थालेकी हुं ।

"यति चांडै एसियाली मेलामा खेल्न पाउंछु जस्तो मलाई लागेको थिएन । अव यो मौकाको पुरापुर सहयोग गर्नेछु," उनको भनाई थियो।

प्राथमिकता

कुन कुन खेलले भाग लिने भन्ने निर्णय गर्न नेपाल सरकारले तयारी कमिटीले गर्ने गर्दछ। सरकारले पदक जित्ने सम्भावित खेलहरुलाई प्राथमिकतामा राखेको हुन्छ। यसबाहेक संघले आफ्नै पहलमा पनि एसियाली खेलकुदमा भाग लिन पाउने नियम छ। सोही अनुसार सरकारको कोटामा नपरेपनि नेपालमा खासै चर्चा नपाएको खेल फेन्सिङले आफ्नै पहलमा एसियाली खेलकुदमा भाग लिन जान लागेको हो ।

नेपाल फेन्सिङ संघका महासचिव सुजन श्रेष्ठले अन्तर्राष्ट्रिय महासंघको सहयोगबाट एसियाडमा भाग लिएको बताए ।

उनले भने "नयाँ खेलहरुलाई यस्ता ठुलो प्रतियोगितामा सहभागी हुनुको विशेष महत्व हुने गर्दछ । हामी अव फेन्सिङलाई नेपालमा फैलाउन यस्तो प्लेटफर्मको सदुपयोग गर्नेछौं।"

४५ एसियाली राष्ट्रहरुले भाग लिने एसियाली खेलकुदमा नेपालले वढी भन्दा वढी प्रतियोगितामा भाग लिनु सकारात्मक पक्ष मानिन्छ । अझ नेपालका अधिकांश राष्ट्रिय संघहरु आर्थिक रुपले कमजोर हुने गरेकाले कतिपय संघले एसियाली र दक्षिण एसियाली खेलकुद कुरेर बसेका थुप्रै उदाहरण पनि छन् ।

विज्ञहरु भन्छन् अन्तर्राष्ट्रिय सहभागिता वढ्दै थपिंदै जानुले सम्भावनाहरु पनि वढाउदै लानेछ।