एसियाडमा नेपाल सहभागी खेलहरु- १

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट EPA

दक्षिण कोरियाली शहर इन्चोनलाई १७ औं एसियाली खेलकुद प्रतियोगिताको रंगले छोइसकेको छ। ४५ देशका १३ हजार भन्दा बढी खेलाडी पदाधिकारीहरु इन्चोन पुगिसकेका छन्।

प्रतियोगितामा ३६ खेलका ४३९ इभेन्ट्सहरुमा नेपालले यसपाली २५ खेलमा सहभागिता जनाइरहेको छ।

दुई हप्ता लामो एसियाली खेलकुद प्रतियोगितामा नेपालको यो अहिलेसम्मको सबैभन्दा ठुलो टोली हो।

सन् १९५१ को पहिलो एसियाली खेलकुदबाट खेल्दै आएको नेपालले यसपाली खेल्ने खेलहरुको विवरण यसप्रकार छ।

१. आर्चरी

नेपालको परम्परागत खेल भएरपनि आधुनिक आर्चरीसंग नेपालको साइनो गांसेको लामो समय भइसकेको छैन।

चार वर्ष अगाडी चीनको ग्वान्जाउमा भएको एसियाली खेलकुदमा मात्रै नेपालको पुरुष टोलीले भाग लिएको थियो। तर पहिलो सहभागितामा नै प्रतियोगितामा आठौं स्थान प्राप्त गरेर नेपाली खेलाडीहरुले प्रभाव छोड्न सफल भयो ।

पहिलो पटक महिला टोली सहितको आर्चरी टोलीले इन्चोमा सहभागिता जनाउंदैछ । नेपालबाट यो प्रतियोगितामा ४ पुरुष र ४ महिलाले सहभागिता जनाउदैंछन्। यिनीहरुले ब्यक्तिगत र टिम इभेन्ट्समा सहभागिता जनाउनेछ ।

एसियाली खेलकुदलाई लक्षित गरी दुई वर्ष अगाडी नेपाल आएका कोरियाली प्रशिक्षक ली चुङ वोन सहित नेपाली प्रशिक्षक दिपक गु्रुङले टोलीलाई प्र्रशिक्षण दिएका छन् ।

आयोजक राष्ट्र दक्षिण कोरियाले एसियाडलाई लक्षित गरी ल्याएको भिजन २०१४ प्रोजेक्ट अन्तर्गत कोरियाली प्रशिक्षक वोन नेपाल आएका हुन् । उनी भन्छन् – नेपाली खेलाडीहरु क्षमतावान छन् , यहांको समस्या स्तरिय पूर्वाधारको अभाव हो ।

काठमाडौंमा आर्चरी प्रशिक्षण स्थल नहुंदा इन्चोन जाने राष्ट्रिय टोलीले रोनास्ट भवनको खुल्ला चौरमा प्रशिक्षण लिएको थियो। काठमाडौं बाहिरको शहर पोखरमामा एक मात्र ब्यवस्थित आर्चरीको खेल स्थल छ ।

आर्चरी खेलाडी मोनिका रानामगर भन्छिन् – एसियाड प्रतिस्पर्धा सम्झेर रोमाञ्चित भइरहेको छु । यो हाम्रो लागि चाड मात्र होइन, ठुलो परिक्षा हो, जसबाट हामीले पाउने मात्र हो गुमाउने होइन ।

२. एथलेटिक्स

एथलेटिक्सले एसियाली खेलकुद शुरु भएदेखि नै अनवरत रुपमा एसियाली खेलकुदमा भाग लिंदै आइरहेको छ । दोडको यो लामो श्रृखलामा नेपालले पदक अहिलेसम्म हात पार्न नसकेपछि एसियाली महादेशका एक से एक उत्कृष्ट खेलाडीहरु माझ प्रतिस्पर्धा र भीडन्त भने छोडेको छैन ।

यसपाली नेपालबाट ९ खेलाडीहरुले भाग लिंदैछन् । यो एथलेटिक्सको अहिलेसम्मको सवैभन्दा ठुलो सहभागिता पनि हो । यी खेलाडीहरुले विभिन्न १३ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुलाई मुख्य प्रशिक्षक शुशिल नरसिंह राणाका अनुसार इन्चोनमा नेपाली एथलेटहरुले धेरैवटा राष्टिय कीर्तिमान बनाउनेछ ।

मिशन सागका रुपमा नेपाली खेलाडीहरुले गत दुई वर्षदेखि लगातार रुपमा प्रशिक्षण पाएकोले खेलाडीहरुमा जोश र जांगर पनि छ । एथलेटिक्समा पुलिस , एपीएफ र नेपाली सेनाका खेलाडीहरुको वर्चश्व रहने हुनाले उनीहरुलाई विभागको थप सहयोग समेत छ। प्रशिक्षक राणा भन्छन्– छोटो दुरीमा यसपाली नया कीर्तिमानहरु बन्नेछ ।

छोटो दुरीका खेलाडीहरुमा याम साजन सुनुवार र तिलकराम थारु तथा महिलामा दिलमाया क्षेत्री छन् । यी खेलाडीहरु अहिले उच्च फर्ममा छन् । खेलाडी केशरी चौधरीले पनि लगजम्पमा कीर्तिमान बनाउने विश्वास गरिएको छ।

३. ब्याडमिन्टन

विश्वका शक्तिशाली ब्याडमिन्टन राष्ट्रहरु एसियामा छन् । त्यसैले नेपाली खेलाडीहरु एसियाली खेलकुदलाई ओलम्पिक खेले सरह मान्छन् । ब्याडमिन्टनको इन्चोन सहभागिता पनि यो ठुलो प्रतियोगिताको हिस्सा बन्नुनै हो ।

यद्यपी अहिलेको सहभागितामा खेलाडीहरको वरीयता सुधार्ने निश्चित उदेश्य भने छ । ब्याडमिन्टन खेलाडीहरुको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको प्रदर्शनले उनीहरुको ब्यक्तिगत वरीयता तलमाथी हुने गर्दछ ।

इन्चोनमा सहभागि हुन लागेको ४ पुरुष र ४ महिला खेलाडीहरुको उदेश्य अन्यको जस्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ गेम्समा उच्च वरीयता प्राप्त गर्नु रहेको छ ।

निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदा नेपाली खेलाडीहरुको वरीयता वढ्ने गर्छ । तर सन् २०१४ मा नेपाली ब्याडमिन्टन खेलाडीहरुले एउटा पनि अन्तर्राष्टिय प्रतियोगितामा भाग नलिएकोले राम्रो वरीयता पाएको छैन । वरीयता वढे साफमा नेपाली खेलाडीहरु राम्रो स्थानमा रहने र शुरुकै चरणमा कडा प्रतिद्धन्दीको सामना गर्न नपर्ने हुन्छ । यही उदेश्यमा खेलाडीहरु रहेका छन् ।

खेलाडी विकास श्रेष्ठ भन्छन् – एसियाडमा वरीयतामा सुधार ल्याउन सके हामीले साग गेम्सको टाइसिट बनाउदा सजिलो पुलमा पर्न सक्छौं । सकिएन भने हामीलाई गाहो हुनेछ । पहिलो खेलमै भारतसंग पर्न गयो भने पदकको सम्भावना समाप्त भइहाल्छ ।’

ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपाली खेलाडीहरुले विगतको तीन लगातार साफमा काश्य पदक जित्दै आएको पनि छ । प्रशिक्षक किरण थापा भन्छन् – साग गेम्समा पदक ल्याउनु एसियाड सहभागिताको उदेश्य हो ।

४. बास्केटबल

नेपाली महिला बास्केटबल टोलीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदैछ इन्चोन एसियाली खेलकुद मार्फत । त्यसैले १७ औं एसियाली खेलकुद नेपाली बास्केटबलको लागि विशेष प्रतियोगिता हुनेछ ।

अन्तराष्ट्रिय बास्केटबलमा छोटो इतिहास रचेको महिला बास्केटबलले यसअघि थ्री एण्ड थ्री बास्केटबलमा भाग लिएपनि पुर्ण टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थिएन ।

यहि तथ्यलाई मध्यनजर गरी बास्केटबल संघले यसपाली महिला राष्ट्रिय टिमलाई स्थान दिएको हो । यसको लागि पुरुष टोलीको नाम टोलीमा समावेश छैन । नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा भन्छन् – पुरुष टोलीले दक्षिण एसियाली खेलकुद, साफ च्याम्पियनसिप र विश्व च्याम्पियनसिप जस्ता प्रतियोगिता खेलिसकेको छ , तर महिला टोलीले अहिलेसम्म मौका पाएका छैनन् । यसैले यसपाली संघले महिलालाई प्राथमिकता दिएको हो ।’

अर्को तथ्य के हो भने महिला बास्केटबलमा दक्षिण एसियाली स्तरमा समेत प्रतियोगिताको आयोजना गरिएको छैन । यद्यपी एक महिना अगाडी मात्र भारतमा भएको मैत्रीपुर्ण प्रतियोगिता अल इन्डिया च्याम्पियनसिपमा नेपाली टोलीले त्यहाको विभिन्न टोलीसंग खेल्ने अवसर पाएको थियो ।

यसैले इन्चोन यात्रा हरेक अर्थमा महिला बास्केटबलको लागि नया कथा हुनेछ । नेपाली टोलीले प्रतियोगिताको पहिलो चरणमा मंगोलिया, हंगकंग, कतार र काजकिस्तानसंग खेल्नेछ । यसबाट उत्कृष्ट एक टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

टोलीका प्रशिक्षक विकास शाही भन्छन् – सहभागितामा नै गौरव छ । तर हामीलाई विश्वास छ, केही खेलहरु हामी पक्का जित्न प्रयास गर्नेछौं ।

५.बक्सिङ

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपालका बक्सरहरुले ४ वटा काश्य पदक जितेका थिए । २८ वर्षपछि सोलको छिमेकी शहर इन्चोनमा एसियाली खेलकुद घुम्दै आइपुगेको छ ।

के बक्सिङले पुरानो कथा दोहो¥याउन सक्ला ? चार वर्ष अगाडी चीनको ग्वाङजाउमा सम्पन्न १६ औं एसियाली खेलकुदमा नेपालले बक्सिङबाट एकमात्र पदक जितेको थियो । त्यसैले बक्सिङबाट यो आशा फेरी पनि स्वाभाविक रुपमा गरिएको छ ।

तर यसपाली आशा महिला खेलाडीहरुबाट गरिएको छ । प्रशिक्षक ओम मास्के भन्छन् – महिला खेलाडीहरुको बलियो देखिएको छ । यसपाली नया इतिहास कोर्ने लक्ष्य छ ।

यसपाली सहभागि ७ पुरुष र २ जना महिलाहरु खेलाडीहरुले इन्चोनमा नाम दर्ता गरेका छन् । इन्चोन पुग्नु अगाडी झन्डै एक महिना थाइल्याण्डमा बक्सिङ टोलीले विशेष प्रशिक्षण पनि लिएका छन् । यसले टोलीका लागि बल पुर्याएको देखिएको छ ।

बलिया मानिने नेपाली बक्सरहरुले एसियाडबाट पदक जित्ने विश्वास नेपाल बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठको पनि छ । उनी भन्छन् – चित्र गुरुङ र दिपक महर्जन पछि नया पदक विजेता बक्सिङ खेलाडी जन्मिनेछ ।

६. क्रिकेट

चारवर्ष अगाडीदेखि मात्र एसियाली खेलकुदको आयोजकले क्रिकेट खेललाई पनि आधिकारिक एसियाली खेलकुद प्रतियोगितामा समावेश गरेको हो ।

नियमित रुपमा नेपाली क्रिकेटको यो दोस्रो सहभागिता हो र नेपालले पुरुष र महिला दुवै टोलीले भाग लिंदैछ ।

एसियाली खेलकुदमा २० ओभरको शैलीमा खेलाउने हुनाले पनि भर्खरै २० ओभरको क्रिकेट खेल्ने मान्यता पाएको नेपालको लागि यो महत्वपुर्ण मानिएको छ ।

पुरुष टोली जल्दोबल्दो स्थितिमा छ । बंगलादेशमा भएको टी २० विश्वकपमा राम्रो प्रदर्शन गरैर फर्केकौ नेपाली टोलीलाई राम्रौ मानिएको छ । त्यसैमा पुराना क्यानेडाली प्रशिक्षक पुबुदु दशानायके पुन राष्ट्रिय टोली सम्हाल्न नेपाल आइसकेका छन् , जसले गर्दापनि राष्ट्रिय टौलीका खेलाडीहरुको विश्वास माथी उठेको छ ।

नेपालले इन्चोनमा पनि केही अप्रत्यासित नतिजा निकाल्ने आशा गर्छन् राष्ट्रिय प्रशिक्षक जगत टमाटा । उनलै भने – खेलाडीहरुको मनोबल वढेको छ । यो प्रतियोगिता आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को तयारी समेत भएकोले हामीले केही राम्रो नतिजा निकाल्ने लक्ष्य बनाएका छौं ।

महिला टोली पनि विगतको भन्दा राम्रो नतिजा निकाल्ने तयारीमा देखिएका छन् । एसियामा उमेर समुहका थुप्रै प्रतियोगिता जितिसकेको महिला टोलीले सिनियर प्रतियोगिता अहिलेसम्म जित्न सकेको छैन । प्रशिक्षक अरुण अर्यालका अनुसार महिला टौलीले हरेक खेल जित्नका लागि प्रयास गर्नेछन् ।

७. साइक्लिङ

एसियाली खेलकुदमा भाग लिने खेलमध्येमा साइक्लिङ खेल पदकको लक्ष्य बनाएको छ ।

नेपालबाट दुई पुरुष अजय पन्डित र नारायण गोपाल महर्जन तथा महिला खेलाडी लक्ष्मी गुरुङले इन्चोनमा प्रतिस्पर्धा गर्नेछन् । यी तीनै जनाले क्रसकन्ट्रि इभेन्ट्समा भाग लिनेछन् । अजय पन्डित भन्छन् – नेपाली खेलाडीहरु साइक्लिङमा कमजोर छैनन् । सरकारले क्लोज क्याम्पमा राखेपछि प्रशिक्षण गरेपछि झन राम्रो भएको छ ।

नेपालले एसियाली क्रसकन्ट्रि प्रतियोगिता समेतको आयोजना गरिसकेको छ। र यहा भएका केही सिमित खेलाडीहरुले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत लिइसकेका छन्।

सहभागि दुई खेलाडी अजय र अर्का खेलाडी नारायणगोपाल महर्जन दुवै अन्तर्राष्ट्रिय प्रतियोगिताका अनुभवी खेलाडीहरु मध्येका हुन्।

अजयले थुप्रै अन्तर्राष्टिय प्रतियोगिता खेलिसकेका छन्।

नारायण गोपालले गत ग्वान्जाउ एसियाडमा पनि भाग लिएका थिए। त्यो बेला उनले उच्च ८ भित्र पर्न सफल भएका थिए।

नेपाली साइक्लिङको मुख्य समस्या राम्रो साइक्लिङ कोर्षको अभाव हो। खेलाडीहरु काठमाडौं वरपरका प्राकृतिक कोर्षमा प्रशिक्षण लिन्छन्।

कहिले धुलिखेल त कहिले त्रिशुलीसम्म पुगेर उनीहरुले कडा मेहनत गरिरहेका छन्।

कोर्षको अभाव लाईनै समस्या मान्छन् नारायण गोपाल महर्जन ।

उनी भन्छन् –समय र साइकलले साथ दिए यसपाली राम्रो स्थान ल्याउनेछु ।

नेपाल साइक्लिङ संघका अध्यक्ष छिमी उर्केन गुरुङले एसियाडको सहभागिता नेपालीको लागि महत्वपुर्ण रहने बताउछन् । उनका अनुसार साइक्लिङ पदकको सम्भावना बोकेको खेल हो भन्ने देखाउने यो एउटा राम्रो अवसर हुनेछ ।

८. फेन्सिङ

नेपालमा भर्खरै हुर्किने क्रममा रहेको फेन्सिङ खेल पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो। चार वर्ष अगाडी चीनको ग्वाङझाउमा एसियाली खेलकुद चलिरहंदा नेपालमा फेन्सिङ शुरु हुंदै थियो।

यद्यपी चार वर्षको विचमा फेन्सिङले ठुल्ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ।

जस्तै इटालीमा भएको वल्र्ड च्याम्पियनसिप, रसियामा भएको जुनियर वल्र्ड च्याम्पियनसिप, थाइल्याण्डमा भएको जुनियर क्याडेड च्याम्पियनसिप, चीनमा भएको एसियन युथ गेम्स र साफ च्याम्पियनसिप समेतमा।

साफ च्याम्पियसिपमा त फेन्सिङले १२ वटा काश्य पदक समेत भित्राइसकेको छ ।

वर्तमान अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका अध्यक्ष थोमस ब्याच फेन्सिङका ओलम्पिक स्वर्ण पदक विजेता हुन्।

यो तथ्यले उत्साहित भएको बताउने नेपाल फेन्सिङ संघका महासचिव सुजन श्रेष्ठ भन्छन् – नेपालमा यो शुरुवात हो, खेलाडीहरु थोरै छन्, खेल सामग्री महंगो छ, प्राविधिकहरु पनि भर्खरै बन्ने क्रममा छ। तर यसले विस्तारै आकार लिनेछ।

इन्चोनमा फेन्सिङका चार खेलाडीहरुले इपी इभेन्ट्समा भाग लिंदैछन्। पदक होइन, शिक्षा यो सहभागिताको उदेश्य हो भन्छन् खेलाडीहरु।

बांकी खेल विवरण भाग २ मा।