जनमतसंग्रह परिणामको सम्मान: महारानी

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption बेलायतकी महारानी एलिजाबेथले जनमतसंग्रहको परिणामको सम्मान गर्न आग्रह गरेकी छन्

बेलायतकी महारानी एलिजावेथले स्वतन्त्रता सम्बन्धी जनमतसंग्रहपछि स्कटल्याण्ड 'आपसी आदर र सहयोगका साथ एकबद्ध रहने' आफुलाई विश्वास रहेको बताएकी छन्।

त्यहाँ तत्काल 'कडा उत्तेजना र विपरित भावना प्रकट हुने' आफुले बुझेको उनले बताइन्।

तर एक अर्काको भावना बुझेर स्कटल्याण्डबासीहरु तीक्तताबाट बाहिर निसक्नेमा आफूलाई शंका नरहेको उनले बताइन्।

महारानीको विज्ञप्ती स्कटल्याण्डका प्रथम मन्त्री एलेक्स सालमण्डले उनको स्वतन्त्रता पक्षधर अभियानले हारेर राजीनामा दिने घोषणा गरे पछि आएको छ।

सम्मान

महरानी अहिले स्कटल्याण्डकै एबरडीनशायरस्थित बालमोरल दरबारमा बसेकी छन्।

उनले भनिन्, महिनौं लामो छलफल, बहस र सावधानीपूर्ण विचार पछि अहिले जनमत संग्रहको परिणाम आइसकेको छ। हामी संयुक्त अधिराज्यका सबैले यो परिणामलाई सम्मान गर्नेछौं।

स्कटल्याण्ड र अन्यत्र पनि परिवार, साथीभाइ र छिमेकीहरुबीच अहिले कडा उत्तेजना र विपरित भावना प्रकट भएका छन्।

उनको भनाइ छ, यो हाम्रो देशमा भएको बलियो प्रजातान्त्रिक परम्पराको प्रकृति हो। तर मलाई विश्वास छ एक अर्काको भावना बुझेर यस्ता भावनाहरु नियन्त्रित हुनेछन्।

एकताबद्ध

उनले थपिन्, अब अगाडि बढ्दा थरिथरिका विचार प्रकट भएपनि हामी सबैमा साझा रुपमा स्कटल्याण्डप्रति अगाध माया छ भन्ने विर्सनुहुँदैन त्यहि नै हामीलाई एकताबद्ध राखिरहने एउटा माध्यम पनि हो।

मैले बुझेसम्म स्कटल्याण्डका मानिसहरुलाई संयुक्त अधिराज्यका अरु जस्तै आ-आफ्ना विचार राख्न सक्षम छन् तर विचार राखिसकेपछि स्कटल्याण्ड र यो देशको अरु क्षेत्रका बासिन्दा सृजनात्मक रुपमा काम गर्न आपसी आदर र सहयोग सहित फेरि एकठाउँमा आउन सक्छन् ।

महारानीले विज्ञप्तीमा भनेकी छन्, 'मेरो परिवार र मैले यो महत्वपूर्ण कामका लागि जस्तो सहयोग र समर्थन चाहिन्छ त्यो गर्नेछौं'।

महारानीको जीवनमा स्कटल्याण्डको सम्पदा महत्वपूर्ण अंग रहँदै आएको छ।

राजनीति भन्दा माथि

उनकी आमा स्कटल्याण्डको एउटा संभ्रान्त परिवारकी छोरी थिइन्।

स्कटल्याण्ड छुट्टिने हो कि भन्ने कुराले महारानी गम्भीर भएको भन्ने खबरहरुलाई बकिङघम दरबारले विज्ञप्ती जारी गरेर रानी राजनीतिभन्दा माथि रहेको दोहोर्याएको थियो।

जनमतसंग्रहको परिणाम प्रभावित पार्ने गरि महारानीले केहि पनि नगर्ने भन्दै विज्ञप्तीमा त्यो स्कटल्याण्डका जनताको मामिला भएको उल्लेख थियो।