एसियाली खेलकुदमा नेपालको लक्ष्य

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Asian games website

एसियाली महादेशका एकसे एक राम्रा खेलाडीहरुको जमघट हुने एसियाली खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरुले यसपाली पनि पदकको लागि निकै संघर्ष गर्नपर्ने बताइएको छ ।

दक्षिण कोरियाको इन्चोन शहरमा हुने सेप्टम्वर १९ देखि अक्टोबर ४ सम्म हुने सो खेल मेलामा यसपाली नेपाललबाट २५ खेलका दुई सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउदैछन् । तर तयारीमा भएको ढिलाई र खेल पदाधिकारीहरु विचको द्वन्द्वले गर्दा खेलाडीहरुको तयारीमा असर परेकोले त्यो असर पदकमा समेत पर्ने खेल अधिकारीहरुले बताएका छन् ।

तेक्वान्दो टोलीका मेनेजर श्याम डंगोल भन्छन् - खेलकुद पदाधिकारीहरुको द्वन्द्वले गर्दा खेलाडीहरुको तयारीमा नराम्रो असर पर्यो । बीचमा उनीहरुको मनोबल घट्ने काम समेत भयो । तरपनि खेलाडीहरु निराश भने छैनन् । पदकका लागि खेलाडीहरुले वर्षौंदेखि मेहनत गरिरहेका छन् ।

कडा प्रतिस्पर्धा

४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीहरुविच हुने प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीहरुको लागि जहिलेपनि फलामको च्युरा बन्दै आएको इतिहास छ । सन् १९५१ को प्रथम एसियाली खेलकुद प्रतियोगिताबाट खेल्न थालेको नेपालले अहिलेसम्म जम्मा तीन खेल तेक्वान्दो, कराते र बक्सिङले मात्र पदक जितेको इतिहास छ । ती खेलाडीहरुको संख्या १७ जना मात्र छ ।

नेपालले एसियाली खेलकुदमा सवैभन्दा ठुलो पदक तेक्वान्दोका सविता राजभण्डारीले जितेका हुन् । उनले सन् १९९८ को बैंकक एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । त्यसपछि तेक्वान्दोकै दिपक विष्टले एसियाली खेलकुदमा दुईवटा काश्य पदक जितेका छन् ।

विगतमा जस्तै मार्शल आर्टसका खेलहरुबाटनै नेपालले पदकको आशा गरेको देखिन्छ । तर यसपाली सहभागि संख्या धेरै भएकोले केही नया खेलहरुबाट पनि पदक जित्न सक्ने कतिले विश्वास गरेका छन् ।

सम्भावित खेलहरु

खेलकुदलाई नजिकबाट बुझेको मानिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले झन्डै १० खेलहरुलाई पदकको सम्भावित सूचीमा राखेका छन् । ती खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, उसु, आर्चरी, ट्रायथोलन, जुडो, सफ्ट टेनिस हो । तेक्वान्दो खेलाडीहरु प्रतियोगिता शुरु हुनु एक महिना अगाडी नै दक्षिण कोरिया पुगेर बन्द प्रशिक्षणमा छन् भने बक्सिङ टोलीले थाइल्याण्डमा प्रशिक्षण लिइरहेका छन् ।

केही खेलले विदेशमा, केहीले विदेशी प्रशिक्षकलाई नेपालमै बोलाई तयारी गरेका छन् । राष्ट्रिय खेलकुद परिषदले पनि पदक जित्ने सम्भावित खेललाई घ्यानमा राखि विगत दुई वर्षदेखि राष्ट्रिय टिम तयारी शीर्षकमा १२ वटा खेलको नियमित प्रशिक्षण पनि सञ्चालन गरेको छ । जसले गर्दा पनि खेलाडीहरुको तयारी बलियो हुने कतिपयले विश्वास गरेका छन् । उनी भन्छन् - पहिले खेलाडीहरु प्रतियोगिता प्रारम्भ हुनु अगाडी मात्र छानिएर बन्द प्रशिक्षणबाट तयारी गर्थे । अहिले त्यस्तो अवस्था छैन । उनीहरु नियमित प्रशिक्षणमा छन् र हौसिएका छन् ।

चुनौती

नेपाली खेलाडीहरु विदेशी प्रतिद्धन्दीहरुसंग भीड्नु अगाडी आन्तरिक समस्यासंग जुझ्न पर्नु नेपाली खेलकुदको नियमित चुनौती बन्दै आएको देखिन्छ । पदक लक्षित नियोजित तयारी नहुनुले पनि नेपालले अधिकांश खेलको चुनौती पहिलो चरण भन्दा माथी उठ्न नसकेको देखिन्छ ।

कराते प्रशिक्षक दिपक श्रेष्ठ भन्छन् पदक जित्न सकिन्छ भन्ने कुरा विगतका विजेताहरुले देखाइसकेका छन् । निश्चित लक्ष्य र त्यो अनुसारको तयारी र लगानी भए हामीले ठुलो पदक दिलाउन सक्छौं ।

यद्धपी एसियाली प्रतिस्पर्धामा खेल्नु र त्यसमा आफ्नो खेलको स्तर मापन गर्नुलाई पनि नेपाली खेलाडीहरुको सफलता मानिने गर्छ ।