पीटीए, पीडीएपछि पञ्चेश्वरबारे छलफल हुँदै

  • 21 सेप्टेम्बर 2014
तस्वीर कपीराइट no credit
Image caption जलविद्युत उत्पादन पर्याप्त नहुँदा नेपाली लोडसेडिङ्को अध्यारोमा बस्न बाध्य छन्

नेपाल र भारतबीच लामो अवधिसम्म अड्किएका विद्युत आयोजना तथा सम्झौताहरु पछिल्लो केही समय धमाधम अघि बढिरहेका बेला अर्को बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे उच्चस्तरीय दुईपक्षीय छलफल हुने भएको छ।

छ हजार मेगावाटभन्दा बढी क्षमताको उक्त आयोजनाको विधानबारे भोलिदेखि सुरु हुने दुई दिने छलफलमा भाग लिन उच्चस्तरीय भारतीय टोली आइतबार नेपाल आउँदैछ।

पञ्चेश्वर आयोजनाको कार्यविधि सचिवस्तरबाट सन् २००९ मै पारित भए पनि त्यसलाई दुई देशका सरकारले अनुमोदन गर्न झन्डै पाँच वर्ष लाग्यो।

करिब डेढ महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उक्त कार्यविधि अनुमोदन भएपछि दुवै देशका प्रतिनिधि सम्मिलित, पञ्चेश्वरसम्बन्धी संयुक्त आयोगको यो पहिलो बैठक बस्न लागेको हो।

आशा

उक्त बैठकमा भारतीय पक्षका ११ जनाको सहभागिता रहने बताइएको छ।

पञ्चेश्वर आयोजना प्रमुख चिरञ्जीवि चटौतले भने, “यसमा कर्मचारी राख्नेलगायत विधि-विधान कसरी तय गर्ने भन्ने विषयमा छलफल गरेर प्रकृया अघि बढ्छ।"

पञ्चेश्वर निर्माणबारे सन् १९९६ मै महाकाली सन्धीमा उल्लेख भए पनि झन्डै दुईदशक हुन लाग्दा पनि यसको विधान तय हुन नसक्दा धेरैले यो प्रतिक्षामै सीमित रहने शंका व्यक्त गरिरहेका थिए।

तर लामोसमयदेखि अड्किरहेका विद्युत आयोजना तथा सम्झौताहरु पछिल्लो केही समय धमाधम अघि बढिरहेको पृष्ठभूमिमा पञ्चेश्वरले पनि गति लिने विश्वास अधिकारीहरुले गरेका छन्।

चटौतले भने, “पीटीए, पीडीएलगायत धेरै अघिदेखि उठेका कुराहरु अहिले चाँडोचाँडो निर्णय भइरहेको बेला पञ्चेश्वर पनि अघि बढ्छ भन्ने विश्वास गरिएको छ।"

पञ्चेश्वरको निर्माणले लामो समयका लागि मुलुकको उर्जा संकट समाधान गर्नेमात्रै नभइ विद्युत व्यापारबाट प्रशस्त विदेशी पूँजी भित्र्याउन बाटो खोल्ने ठानिएको छ।