गानी राष्ट्रपतीय चुनावमा विजयी घोषित

  • 21 सेप्टेम्बर 2014
Image caption नयाँ राष्ट्रपतिले अमेरिकासँग दुइपक्षीय सुरक्षा सम्झौता गर्ने अपेक्षा गरिएको छ

अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनमा मतदान सकिएको तीन महिनापछि त्यहांको निर्वाचन आयोगले असरफ गानीलाई आइतबार विजयी भएको घोषणा गरेको छ।

गानी र उनका प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाहबीच राष्ट्रिय एकताको सरकार बनाउने सम्झौतामा हस्ताक्षर भएलगत्तै निर्वाचन आयोगले त्यस्तो घोषणा गरेको हो।

निर्वाचन आयोगले दुवै उम्मेदवारले कति मत पाए वा कुल कति मत खस्यो भन्ने विवरण भने सार्वजनिक गरेको छैन।

गत अप्रिलमा भएको पहिलो निर्वाचनमा अब्दुल्लाह अगाडि थिए तर उनले सरकार निर्माणका लागि बहुमत भने प्राप्त गर्न सकेनन्।

संकेत

त्यसपछि जुनमा भएको दोस्रो चरणको निर्वाचनका प्रारम्भिक नतिजाहरुले गानी अगाडि रहेको संकेत दिएको थियो।

लगत्तै दुवै पक्ष निर्वाचनमा धांधली भएको भन्दै एकअर्कामाथि आरोपप्रत्यारोपमा उत्रिए जसका कारण विजयी उम्मेदवार घोषणा गर्न पनि निर्वाचन आयोगलाई तीन महिना कुर्नुपर्यो।

दुवै प्रतिस्पर्धीबीच राष्ट्रिय एकताको सरकार गठनसम्बन्धी सम्झौता भएपछि निर्वाचन आयोगलाई उक्त घोषणा गर्ने बाटो खुलेको थियो।

उक्त सम्झौता अनुसार गानी राष्ट्रपति घोषित हुनेछन् भने प्रधानमन्त्रीको जस्तै अधिकार भएको कार्यकारी नियुक्त गर्ने जिम्मा अब्दुल्लाहले पाउनेछन्।

यो सम्झौताले अफगानिस्तानमा केही महिनायता जारी राजनीतिक गतिरोध अन्त्य गर्ने ठानिएको छ।

अफगान राष्ट्रपति हमीद कार्जाइदेखि लिएर संयुक्त राज्य अमेरिकाले उक्त सम्झौता अत्यन्तै महत्वपूर्ण भएको भन्दै स्वागत गरेका छन्।

राष्ट्रिय एकता सरकार गठनका लागि मनाउन अमेरिकाले प्रयास गर्दै आएको थियो।