एम्मा वाटसनलाई धम्की

  • 23 सेप्टेम्बर 2014
अन्य कलाकारहरुका साथ एम्मा
Image caption ह्यारी पोटर श्रृङखलाका चलचित्रहरुमा अभिनय गरेपछि एम्मा चर्चित भएकी थिइन्

संयुक्त राष्ट्र संघमा लैङ्गिक समानताकालागि आह्वान गर्दै भावपूर्ण संबोधन गरेकी ब्रिटिश अभिनेत्री एम्मा वाटसनलाई इन्टरनेटमा धम्की दिइएको छ।

'एम्मा यु आर नेक्स्ट' नाम दिइएको एउटा वेब पृष्ठमा आउँदो शुक्रबार रातीसम्ममा उनलाई निशाना बनाइने चेतावनी दिइएको छ।

यसअघि इन्टरनेटमा विभिन्न चर्चित महिलाहरुका नाङ्गा तस्वीरहरु प्रकाशित गरिएका थिए।

आह्वान

गत शनिबार संयुक्त राष्ट्र संघमा आयोजित एउटा समारोहमा "हि फर शी" नामक अभियानको थालनी गर्दै २४ बर्षीया ब्रिटिश अभिनेत्री वाटसनले सबै पुरुषहरुलाई लैङ्गिक समानताको पक्षमा बोल्न आह्वान गरेकी थिइन्।

उनलाई राष्ट्रसंघले महिला सदभाव राजदूत पनि मनोनयन गरेको छ।

आफ्नो संबोधनमा वाटसनले महिला हितको कुरा गर्दा पुरुषहरुलाई घृणा गर्न खोजेको हो कि भन्ने अर्थ लगाइएको पनि बताइन्।

तर उनले भनिन्, यस्तो सोचाइ अन्त्य गरिनुपर्छ।

उनले भनिन्, "मेरो विचारमा मैले आफ्नो पुरुष समकक्षी जत्तिकै तलब पाउनु एउटा सही कुरा हो। मैले आफ्नो शरीरबारे निर्णय गर्न पाउनु पनि एउटा सही कुरा हो। सामाजिक रुपमा मलाई पनि पुरुष जत्तिकै सम्मान दिइनुपर्छ भन्नु एउटा सही कुरा हो।"

समानता

उनले संसारमा कुनै पनि मुलुकले अहिलेसम्म लैङ्गिक समानता प्राप्त गरेको जनाउन नसक्ने पनि बताइन्।

वाटसनको भाषण सामाजिक सन्जालमा निकै लोकप्रिय बनेको छ।

तर इन्टरनेटमा चर्चित महिलाहरुलाई निशाना बनाउन चाहने समूहले वाटसनलाई पनि धम्की दिएको हुनसक्ने ठानिएको छ।

एम्मा वाटसन ह्यारी पोटर चलचित्र श्रृङखलाकी एक पात्रको रुपमा चर्चित भएकी हुन्।

त्यसपछि उनले अन्य चलचित्रहरुमा पनि अभिनय गरेकी छिन्।