एमाले नेतृ साहनाको निधन

  • 23 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption एमालेका समकालीन नेताहरुभन्दा स्वं प्रधान बरिष्ठ नेतृ थिएन्

केही वर्षदेखि अस्वस्थ नेकपा एमालेकी नेतृ साहना प्रधानको निधन भएको छ।

नेतृ प्रधानको विगत ३-४ वर्षयता लामो समय घरमै उपचार गरिएको थियो।

एमाले सचिव योगेश भट्टराईका अनुसार करिब तीन महिनादेखि अस्पताल भर्ना गरिएको र उनी लामो समय अचेत जस्तै थिइन्।

गत राती उपचारकै क्रममा उनको अस्पतालमा निधन भएको हो।

वाममोर्चाको नेतृत्व

उनले प्रजातन्त्र पुनर्स्थापना गर्न सफल भएको नेपाली कांग्रेसले नेतृत्व गरेको २०४६ सालको जनआन्दोलनको एउटा घटक संयुक्त वाममोर्चाको नेतृत्व गरेकी थिइन्।

तत्कालीन नेकपा मार्क्सवादीकी नेतृ उनलाई अन्य कम्युनिष्ट घट्कहरुले वाममोर्चाको अध्यक्ष स्वीकारेका थिए।

२०४७ सालको संविधान जारी गर्दाको अन्तरिम सरकारमा उनीसँगै मन्त्री रहेका वाममोर्चाको एउटा घटकका नेता निलाम्बर आचार्य भन्छन्, “प्रजातन्त्र पुनर्स्थापनाको कांग्रेसको लाइनमा कम्युनिष्ट पार्टी पनि संगसंगै जानुपर्छ भन्ने उहाँको मान्यता थियो, २०४६ सालमा जनआन्दोलनका निम्ति कांग्रेससँग कार्यगत एकता गर्नु पर्ने परिस्थितिमा वरिष्ठ नेताको रुपमा उहाँ स्वाभाविक रुपमा वाममोर्चाको अध्यक्ष बन्नु भएको थियो।”

नेतृ प्रधान नेपाली वामपन्थी आन्दोलनको एउटा धारको सर्वसम्मत नेता पुष्पलाल श्रेष्ठकी पत्नी पनि हुन्।

एउटा कम्युनिष्ट धारले लामो समय 'गद्दार' घोषणा गरेका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले प्रजातन्त्रको निम्ति कांग्रेससँग कार्यगत एकताको मत राख्ने धारको नेतृत्व गर्थे।

शीर्ष स्थान

पुष्पलालको निधनपछि नेतृ प्रधान र उनका भिनाजु नेता मनमोहन अधिकारीको पार्टीबीच एकता भयो।

एकतापछिको उनीहरुको नेकपा-माक्सवादी र मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा-मालेबीच जनआन्दोलनको सफलतापछि एकिकरण भएर नेकपा एमालेको जन्म भएको हो।

थुप्रै कम्युनिष्ट पार्टीहरुको भीडमाझ पछि उक्त दल नै मूलधारको वामपार्टी बन्न पुग्यो।

नेतृ प्रधान उक्त दलको पनि शीर्ष नेतृत्वमा रहि विभिन्न मन्त्रालयको जिम्मेवारी पनि निर्वाह गरेकी थिइन्।

अग्लो राजनीतिज्ञ

बृद्धावस्था एवं अस्वस्थताका कारण केही वर्षदेखि उनी सक्रिय राजनीतिभन्दा टाढै थिइन्।

कतिपयले उनको उपचार र अवस्थाप्रति पार्टी र नेताहरुले वेवास्ता गरेको भन्दै आलोचना गर्ने गरेका थिए।

उनी राणा शासनकालमा महिलाले पनि पढ्न पाउनु पर्छ भन्ने पक्षमा आवाज उठाउने एकजना अगुवा थिइन्, जसमा कांग्रेस नेतृ मंगलादेवी सिंह लगायतका महिला अगुवा थिए।

त्यसैले उनलाई नेपाली राजनीतिमा एकजना अग्लो राजनीतिज्ञ मात्र नभई नेपाली महिला आन्दोलनको अगुवाई गरेको श्रेय पनि दिईन्छ।