'आइएस विरुद्धको लडाईं हाम्रो एक्लैको होइन'

  • 23 सेप्टेम्बर 2014
राष्ट्रपति ओबामा तस्वीर कपीराइट EPA
Image caption राष्ट्रपति ओबामाले इस्लामिक स्टेट विद्रोही विरुद्ध कारवाही तीव्र पार्ने बताए

राष्ट्रपति बराक ओबामाले इस्लामिक स्टेट विद्रोहीहरु विरुद्धको कारवाही अमेरिका एक्लैको नभएको जनाएका छन्।

ह्वाइट हाउसमा बोल्दै उनले सिरिया तथा इराक दुवै देशमा ती विद्रोहीहरु विरुद्ध हमला गर्ने घोषणा गरे।

विद्रोहीहरुलाई कतैपनि सुरक्षित स्थल नछाडिने चेतावनी पनि उनले दिए।

उनले उक्त संगठन विरुद्धको कारवाहीले समय लिन सक्ने बताउँदै भने, “हाम्रो सम्पूर्ण प्रयासले केही समय लिनेछ, त्यसका लागि चुनौतीहरु हुनेछन्। तर उक्त आतंकवादी संगठनलाई पराजित गर्न अनि हाम्रो देशको र विश्वको सुरक्षाका लागि हामी आवश्यक सबै कदम चाल्नेछौँ।”

तीव्र

संयुक्त राज्य अमेरिका र पाँच अरब देशहरुले इस्लामिक स्टेटका विद्रोहीहरु विरुद्ध सिरियामा हवाइ आक्रमणहरु तीव्र पारेका छन्।

पेन्टागनका अनुसार लडाकु विमान, मानवरहित ड्रोन विमान तथा टोमाहक क्षेप्यास्त्रहरुले आइएसको मुख्य गढ रहेको रक्का सहित कैयौँ स्थानमा प्रहार केन्द्रित गरेका थिए।

यसअघि सिरियाली मानवअधिकारवादी संस्था सिरियन अबजरभेटरी फर ह्युमन राइट्सका अनुसार पहिलो दिनको कारवाहीमा आइएस सम्बद्ध कम्तीमा ७० विद्रोहीहरु मारिएका छन्।

अमेरिकी सैन्यका सबैभन्दा उच्च अधिकारी जेनरल मार्टिन डेम्प्सीले सिरियास्थित इस्लामिक स्टेटका अखडाहरुमा गरिएको सैन्य कारवाहीले आफ्नो रणनीतिक लक्ष्य हासिल गरेको बताएका छन्।

पछिल्लो अक्रमणले आइएस विद्रोहीहरुलाई लुक्ने ठाउँ कहीं पनि बाँकी नरहेको स्पष्ट पारेको उनको भनाइ छ।

बीबीसीलाई प्राप्त जानकारी अनुसार ४ वटा अरब देशहरु—साउदी अरेबीया, संयुक्त अरब एमिरेट्स, जोर्डन र बहराइन-- ले आक्रमणमा साथ दिँदै लडाकु विमानहरु उडाएका थिए।

पाँचौं देश कतारले लडाकु विमानहरु परिचालन नगरेपनि आक्रमणको योजना बनाइरहेका सैनिकहरुलाई स्थान उपलब्ध गराएको थियो।

प्रत्यक्षदर्शीहरुले उक्त शहरबाट धेरै जना भागिरहेको जनाएका छन्।

बृटेनका प्रधानमन्त्री डेवीड क्यामरोनले विज्ञप्ति जारी गर्दै आइ एस विरुद्धको कारवाहीमा आफ्नो समर्थन रहेको र त्यसमा संयुक्त अधिराज्यले उपलब्ध गराउने सहयोगबारे राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा छलफल गर्ने जनाएका छन्।

बृटेनले आइएससँग लडिरहेका कुर्दहरुलाई हतियार उपलब्ध गराउने बताएको छ र अहिले भैरहेका निगरानी कारवाहीमा विमान लगायत सहयोग उपलब्ध गराएको छ।