'सिरियामा आइएसविरुद्ध आक्रमण'

  • 23 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption राष्ट्रपति बाराक ओबामाले सार्वजनिक गरेको नयाँ रणनीति अनुसार कारवाही थालिएको बताईएको छ।

अमेरिका र गठबन्धन मुलुकहरुले सिरियामा पहिलो पटक इस्लामिक स्टेट विद्रोहीविरुद्ध हवाई आक्रमण शुरु गरेको पेन्टागनले जनाएको छ।

पेन्टागनका प्रवक्ता रिअर एडम जोन किर्बिले आक्रमणमा लडाकु र बम प्रहार गर्ने जेटहरु तथा तोमाहोक क्षेप्यास्त्रहरुको प्रयोग गरिएको बताएका छन्।

इस्लामिक स्टेट विद्रोहीलाई तहसनहस र ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको घोषणाअन्तर्गत सिरियामा हवाई आक्रमण थालिएको अनुमान गरिएको छ।

अगस्ट महिनायता अमेरिकाले इराकमा १ सय ९० वटा हवाई आक्रमणहरु गरिसकेको बताईएको छ।

कारवाही

इस्लामिक स्टेट विद्रोहीले सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएको छ।

किर्बिले अमेरिकी सेना र गठबन्धन मुलुकहरुले सिरियामा सैन्य कारवाही गरिरहेको सोमबार पुष्टि गरे।

यद्यपि उनले थप विवरण खुलाउन चाहेनन्।

किर्बिले विज्ञप्तिमा भनेका छन्, “सिरियामा कारवाही जारी रहेकोले त्यसबारे हामी अहिलेनै विस्तृत विवरण उपलब्ध गराउने अवस्थामा छैनौं।”

खतरा

बीबीसीलाई प्राप्त जानकारी अनुसार हवाई आक्रमणमा अरब राष्ट्रहरु पनि सहभागी भएका छन्।

यसै महिनाको सुरुतिर देशभर प्रसारण गरिएको आफ्नो टेलिभिजन संबोधनमा राष्ट्रपति ओबामाले अमेरिकालाई खतरा निम्त्याउने समूहले सिरिया लगायत कतै पनि सुरक्षित स्थान नपाउने बताएका थिए।

सेनाको परमाधिपतिको हैसियतले आफूले हवाई आक्रमण गर्न आदेश दिएको भन्दै उनले इस्लामिक स्टेट लडाकुविरुद्ध सिरियामा लडिरहेका उदावादी समूहलाई हतियार र प्रशिक्षण दिने योजनालाई अनुमोदन गर्न कंग्रेससमक्ष आग्रह गरेका थिए।

त्यसलाई अमेरिकी कंग्रेसले अनुमोदन गरिसकेको छ।