‘प्रहरीमा चौधजना एआईजी धान्नै गाह्रो’

  • 24 सेप्टेम्बर 2014

नेपाल प्रहरीमा महानिरीक्षक (प्रमुख) पछिको दोश्रो वरियताको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को संख्या १४ जना पुग्ने भएपछि, त्यो बोझ धान्न प्रहरी संगठनलाई गाह्रो हुने र उनीहरु मध्ये कतिपय काम विहिन हुन सक्ने भन्दै पूर्व सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

Image caption सर्वोच्च अदालतको आदेशपछि प्रहरी संगठनको इतिहासमै एआइजीको संख्या सबैभन्दा बढि पुग्ने देखिएको छ

सर्वोच्च अदालतले हिंजो थप चारजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई पनि बढुवा गर्न सरकारलाई आदेश दिएपछि, प्रहरी संगठनभित्र प्राविधिकतर्फ सहित एआईजीको संख्या १४ पुग्ने भएको हो।

सरकारले बढुवा गर्दा आफूहरुलाई विभेद र अन्याय गरेको भन्दै बढुवामा नपरेका चारजना डिआईजीले गत साउनमा अदालतमा रिट हालेका थिए।

सन्देश

सातजनालाई एआईजीमा बढुवा गर्नु पर्नेमा सरकारले त्यसबेला नौजनालाई बढुवा गरेको थियो।

बढुवा प्रक्रियामा अनियमितता भएको रिटको दावी सदर गर्दै चारजना डिआइजीहरुलाई पनि बढुवा गर्न मंगलबार सर्वोच्चले आदेश दिएपछि प्रहरी संगठनभित्र १४ जना एआईजी हुनेछन्।

यति धेरै उच्च अधिकारीहरु राख्दा प्रहरी संगठनलाई धान्नै गाह्रो हुने पूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले बताए।

उनले भने, “नेपाल प्रहरीमा अधिकृतहरु धेरै हुँदा राम्रो सन्देश जाँदैन। दोषी सर्वोच्च अदालत होइन, सरकार नै हो। पहिला सातजना नै बढी भएको भनिइरहेको अवस्थामा एकै चोटि छजना थप्दाखेरी धान्न गाह्रो हुनु त स्वाभाविक हो।”

सम्भावना

प्रहरी संगठनमा पुनर्संरचना गरेर मात्रै कुन तहमा कति अधिकारी रहने भन्ने कुराको निर्धारण गर्न सकिने पूर्व गृहसचिव नवीन घिमिरेले बताए।

प्रहरी संगठनभित्र विना अध्ययन धेरै संख्यामा एआईजी बढुवा हुँदा उनीहरु कामविहीन हुन सक्ने आशंका उनले व्यक्त गरे।

उनले भने, “अहिलेको प्रहरीको संरचना हेर्दा त्यति धेरै एआईजी आवश्यक होइन। उनीहरु कामविहीन हुन सक्ने सम्भावना छ। कि त नयाँ कामहरु सृजना गर्नु पर्यो, नत्र त त्यत्तिकै खाली बस्नु पर्ने अवस्था पनि आउन सक्छ।”

पछिल्लो बढुवा विवादमा परेपछि सरकारले बहालवाला एआईजीहरुको अवकाशपछि भने प्रहरी संगठनमा तीनजना मात्रै रहने गरी नेपाल प्रहरीको नियमावलीमा संशोधन गरेको छ।