'अमेरिकाद्धारा आइएसविरुद्ध थप हवाइ हमला'

  • 24 सेप्टेम्बर 2014
kirby
Image caption पेन्टागनका प्रवक्ताले आइएसविरुद्धको लडाइमा वर्षौ लाग्न सक्ने बताएका छन्

अमेरिकाले उग्रवादी समूह इस्लामिक स्टेट आइएसविरुद्ध सिरिया र इराकमा आफूले थप पाँचवटा हवाइ हमला गरेको बताएको छ।

यसअघि टर्कीसंगको सीमा नजिकैको सिरियाली भूभागमा पनि हवाइ हमला भएको विवरणहरु आएका थिए।

तर उक्त आक्रमण अमेरिकी फौजले गरे/नगरेको भन्नेबारे प्रष्ट भएको छैन।

हमला

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार ताजा हवाइ हमलाहरु उत्तरी इराकको इर्बिल, इराक-सिरिया सीमास्थित अल कायम र बगदादको पश्चिमी भागमा लक्षित थियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै बीबीसी संवाददाता पउल एडम्सले भने,“पेन्टागनका प्रवक्ताका अनुसार ताजा हवाइ हमलामध्ये दुईवटा चाहिं इराक-सिरिया सीमामा केन्द्रित थिए जहांबाट इस्लामिक स्टेटले सामग्री ओसारपोसार गर्छ। योसहित सैन्य अभियान सुरु भएयता सिरियामा २० वटा र इराकमा २ सय वटा हवाइ हमला भएको पेन्टागनले जनाएको छ।“

पेन्टागनका प्रवक्ता जन कर्बीले अमेरिकी आक्रमणका कारण आइएसका गतिविधि अवरुद्ध भएपनि उसविरुद्धको लडाइले वर्षौ लिन सक्ने भन्दै सचेत समेत गराएका छन्।

अस्वीकार

यसअघि टर्कीसंगको सीमा नजिक पर्ने सिरियाली शहर कोबानीमा हवाइ हमला भएको विवरण आएका थिए।

प्रत्यक्षदर्शीहरुले लडाकु विमानहरु टर्कीतिरबाट आएको बताएपनि टर्कीका अधिकारीहरुले आफ्नो हवाइ आकाश वा हवाइ आधार प्रयोग भएको अस्वीकार गरेको छ।

अमेरिकाले इस्लामिक स्टेटका ठेगानाहरुमा लक्षित गर्दै इराकमा गत महिनादेखि नै हवाइ आक्रमण गरेको थियो भने सिरियामा हालै मात्रै हमला थालिएको थियो।

उत्तरी सिरियामा आइएसअघि बढ्दै जांदा छिमेकी टर्कीमा शरणार्थी संकट उत्पन्न भएको छ।

सहायता निकायहरुका अनुसार १ लाख ३० हजारभन्दा बढी कुर्द शरणार्थीहरु सिरियाबाट टर्की पुगेका छन् जसमध्ये अधिकांश कोबानीबाट गत सप्ताहान्तमात्रै त्यहां पुगेका हुन्।