‘जिहादी भर्ती रोक्न' संकल्प प्रस्ताव पारित

  • 25 सेप्टेम्बर 2014
तस्वीर कपीराइट na
Image caption राष्ट्रपति बाराक ओबामाले इस्लामिक स्टेटविरुद्ध बृहद् गठबन्धन बनाउने प्रयास जारी राख्ने बताएका छन्

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरिया र इराकमा विद्रोहीहरुसँग मिलेर लडाईमा त्यहाँ जाने जिहादीहरुलाई रोक्नेसम्बन्धी एउटा बाध्यकारी संकल्प प्रस्ताव अनुमोदन गरेको छ।

परिषद्को विशेष सत्रको अध्यक्षता गरेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले सबै मुलुकहरुले जिहादी समूहमा हुने भर्ना र आर्थिक सहयोग रोक्नुपर्ने बताए।

अमेरिकाले तयार पारेको उक्त संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको बताईएको छ।

इस्लामिक स्टेट विद्रोहीलाई मृत्युको सञ्जाल भन्दै ओबामाले उसलाई तहसनहस पार्न विश्वव्यापी पहलको आवश्यकता औल्याए।

तहसनहस

उनले भने, “इस्लामिक स्टेट भनिने आतंकवादी समूहलाई तहसनहस पार्नुपर्छ र अन्त्यमा सिध्याउनुपर्छ। यो समूहले इराक र सिरिया पुग्ने सबैलाई आतंकित बनाएको छ।”

उनले इस्लामिक स्टेट विद्रोहीलाई सिध्याउनका निम्ति अमेरिकाले ठूलो गठबन्धनसँग मिलेर काम गर्ने जनाए।

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले सबै प्रकृतिको अतिवादसँग जुध्नुपर्ने भन्दै घृणा र हिंस्रक विचारयुक्त उपदेश दिने कार्यमाथि प्रतिबन्ध लगाउनुपर्ने बताए।

उनले सिरिया र इराकमा जारी द्वन्द्वले सम्पन्न मुलुकका युवाहरुलाई लडाईका लागि आकर्षित गरिरहेको बताए।

सफल

इस्लामिक स्टेट विद्रोहीविरुद्ध गत महिना इराकमा हवाई आक्रमण सुरु गरेको अमेरिकाले सोमबारदेखि सिरियामा पनि आक्रमणलाई विस्तार गरेको छ।

अमेरिकी र अरब लडाकु जेटहरुले सिरियामा तेल केन्द्रहरु र इस्लामिक स्टेट विद्रोहीलाई लक्षित गरी दोस्रो दिन पनि हवाई आक्रमण जारी राखेको बताएका छन्।

पेन्टागनले पूर्वी सिरियामा साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सका लडाकू विमानहरुले १२ वटा साना तेल प्रशोधन केन्द्रहरु र एउटा सवारी साधनमाथि आक्रमणमा सघाएको बताएको छ।

पेन्टागनका अनुसार प्रारम्भिक विवरणहरुबाट हवाई आक्रमण सफल भएको देखिएको छ।

आक्रमणबाट ध्वस्त पारिएका तेल प्रशोधन केन्द्रहरुबाट दैनिक २० लाख डलर बराबरको तेल उत्पादन हुने गरेको र उक्त रकम इस्लामिक स्टेट विद्रोहीले आक्रमणका लागि प्रयोग गर्ने गरेको अमेरिकाले बताएको छ।