सिरियास्थित आइएसका ठेगानाहरुमा हमला

  • 25 सेप्टेम्बर 2014
obama तस्वीर कपीराइट Getty
Image caption अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएस लडाकुहरुलाई नष्ट गर्नुपर्ने बताएका छन्

उत्तरी सिरियाको कोबानी शहरतर्फ लम्किरहेका इस्लामिक स्टेट विद्रोहीलाई आफूहरुले पछि धकेलि दिएको कुर्द फौजले बताएको छ।

शहर बाहिर भीषण गोलीबारी भएका विवरणहरु आएका छन्।

कुर्द फौजका कमाण्डरहरुले विद्रोहीमाथि थप हवाई हमला गर्न अमेरिकालाई आग्रह गरेका छन्।

तीव्र

गए राति अमेरिकी नेतृत्वका फौजले आइएसले अड्डा जमाएका क्षेत्रहरुमा हवाई हमला तीव्र पारेको थियो।

खासगरी ती हमलाका लक्ष्य पूर्वी सिरियामा आइएसको नियन्त्रणमा रहेका तेल प्रशोधन केन्द्रहरु थिए।

राजधानी दमास्कस बाहिरको अद्रा शहरमा आफूहरुले पुन: नियन्त्रण जमाएको सिरियाली सरकारी सेनाले बताएको छ।

उक्त शहर यसअघि इस्लामवादी अल नुस्रा फ्रन्टको कब्जामा थियो।

तस्करी

बितेका महिनाहरुमा आइएस विद्रोहीले सिरिया तथा इराकका ठूला भूभाग आफ्नो कब्जामा लिएका छन्।

उनीहरुले कैयौं तेल प्रशोधन केन्द्रहरुमाथि पनि नियन्त्रण कायम गरेका छन्।

ती केन्द्रबाट उत्पादित तेलको तस्करीबाट हुने आम्दानीले तिनको कारबाही अघि बढिरहेको बताइन्छ।

ती केन्द्रबाट २० लाख अमेरिकी डलर प्रति दिन आम्दानी हुने गरेको अमेरिकी रक्षामन्त्रालय पेन्टागनको अनुमान छ।

अगस्ट महिना यता अमेरिकाले ती विद्रोही विरुद्ध इराकमा करिब दुई सय पटक हवाई हमला गरिसकेको छ।

सोमबारदेखि अमेरिकाले हवाई हमला सिरियाली क्षेत्रमा पनि थालेको छ।