‘उच्चसमितिको नेतृत्व पहिले प्रचण्डलाई’

  • 26 सेप्टेम्बर 2014
sushil तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्री सुशील कोइराला न्यूयोर्कबाट फर्कनुअघि संसदको गतिरोध नखुल्ने आशंका बढ्दै गएका छन्

सत्तारुढ प्रमुख घटकहरु नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक समितिको नेतृत्व आलोपालो गरेपनि त्यसको जिम्मा सबैभन्दा पहिले एकीकृत माओवादीलाई दिने प्रस्ताव गरेका छन्।

एकीकृत माओवादीलाई समितिको स्थायी नेतृत्व दिने वा नदिने भन्ने विषयमा प्रमुख दलहरु तीव्र रुपमा विभाजित भइरहेका बेला उक्त प्रस्ताव मध्यमार्गी बाटो हुन सक्ने कांग्रेस र एमालेका नेताहरुको भनाइ छ।

तर एकीकृत माओवादीले भने उक्त प्रस्ताव आफूहरुलाई अस्वीकार्ये हुने छनक दिएको छ जसका कारण संसदको गतिरोध दशैको बिदाअघि अन्त्य हुने सम्भावना न्यून देखिएको ठानिएको छ।

विकल्प

राजनीतिक समिति बनाउन विगतमा सहमति गरेपनि, पछि हटेका कांग्रेस र एमाले उक्त समिति गठन गर्न अहिले आएर अन्तत: राजी भएपछि गतिरोध अन्त्य हुने आशा पलाएको थियो।

तर समितिको नेतृत्वमा आएर नयां गांठो परेको छ जुन करिब एक महिनायता संसद अवरुद्ध पार्ने प्रमुख कारण बन्न पुगेको छ।

स्थायी नेतृत्व आफ्ना अध्यक्ष प्रचण्डले पाउनुपर्ने एकीकृत माओवादीको माग र आलोपालो नेतृत्व हुनुपर्ने कांग्रेस एमालेको अडानबीच मध्यमार्गी जस्तो देखिने विकल्पमाथि छलफल भइरहेको नेताहरुले बताएका छन्।

शुक्रबारसहित पछिल्ला केही दिनका औपचारिक-अनौपचारिक वार्ताहरुमा उठेको त्यस्तो विकल्पबारे कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल भन्छन्,“पहिलो चोटि संयोजन गर्नुहोस् भनेर हामीले प्रचण्डलाई भनेका छन्। त्यसकैको वरिपरि सहमति जुटाउने गरेर छलफल भइरहेको छ”।

त्यसरी संयोजकत्व दिंदा एउटा दललाई एकदेखि चार महिनासम्म छुट्याउनेबारे छलफल भइरहेको उनले बताए।

विमति

तर आलोपालो प्रणाली अपनाउनेमा एकीकृत माओवादी सहमत हुने संकेत भने हालसम्म देखिएको छैन।

उक्त दलका प्रमुख सचेतक गिरिराजमणि पोख्रेल भन्छन्, “अहिले नेपाली समाजको संक्रमणकाललाई व्यवस्थापन गर्नुपर्ने बेला नेतृत्वको कुरा महत्वपूर्ण हुन आउंछ। त्यसका लागि सबैभन्दा उपयुक्त व्यक्ति प्रचण्डजी नै हो”।

तर त्यो तर्कबाट सत्तारुढ घटकहरु उति आश्वस्त हुन सकेको देखिदैंन।

यसको पछाडि कतिपय विश्लेषकहरु अझै पनि प्रमुख दलहरुबीच रहेको ठानिएको राजनीतिक अविश्वासलाई कारण ठान्छन्।

एमाले नेता अग्नी खरेल भन्छन्,“आफू पहिलो ठूलो दल हुंदा आलोपालो हुने तर तेस्रो दल हुंदा किन स्थायी रुपमा एकीकृत माओवादीले नेतृत्वको माग गरिरहेको छ ? त्यो सिद्ध हुनुपर्छ”।

यस्ता मतभेदबीच सभामुख सुवास नेम्वांगले शुक्रबारनै कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई भेटी संसद अवरोध छिटै अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन्।

तर संसदको यो गतिरोध, अर्को साताबाट सुरु हुने दशैंको बिदाअघि टुंगिने सम्भावना कम हुंदैको कतिपयको आकलन छ।