अमेरिकी आक्रमणमा 'आइएसका ट्याकंहरु' ध्वस्त

  • 26 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption सिरियामा आइएसले कब्जा जमाएका तेल भण्डारमा पनि अमेरिकाले आक्रमण गरेको छ

अमेरिकी गठबन्धनले गरेको हवाई आक्रमणमा इराक र सिरियामा इस्लामिक स्टेट सम्बद्ध बिद्रोहीहरुका ठेगानाहरु र सवारी साधनहरु क्षतिग्रस्त भएको पेन्टागनले जनाएको छ।

गठबन्धनका विमानहरुले आइएसको आम्दानीको मुख्य श्रोत रहेका तेल भण्डारहरुलाई पनि निशाना बनाएका छन्।

अमेरिकी नेतृत्वमा इराकमा जारी हवाई आक्रमणमा सहयोग पुर्याउने बारे प्रधानमन्त्री डेविड क्यामरनको प्रस्तावमा बृटिश संसदले निर्णय गर्दैछ।

युरोपेली देशहरुले इराकमा भैरहेको आइएस बिरुद्धको हवाई आक्रमणमा अमेरिकालाई साथ दिने घोषणा गरिरहेका छन्।

हमला

अमेरिकाको नेतृत्वमा सिरियामा भैरहेको चौथो रातको गोलाबारीमा विद्रोहीहरुका चार वटा ट्यांक ध्वस्त भएको र अर्को एउटा क्षतिग्रस्त बनेको अमेरिकी रक्षा निकाय पेन्टागनले जनाएको छ।

प्रत्यक्षदर्शीहरुले विद्रोहीहरुको नियन्त्रण रहेको पूर्वी सिरियाबाट हवाई कार्वाहीहरु सुरु भएयता मानिसहरु भागिरहेको बताएका छन्।

अमेरिकाले इराकमा राजधानी बग्दाद सहित विभिन्न स्थानमा सात वटा हवाई आक्रमण गरेको जनाएको छ।

डेनिस सरकारले सात वटा एफ सिक्सटिन लडाकू विमानहरु आइ एस विरुद्धको कार्वाहीका लागी इराकमा मात्र पठाउने जनाएको छ।

बृटेनको संसदले इराकमा सम्भावित हवाई आक्रमणमा समावेश हुने बारे केही बेरपछि मतदान मार्फत निर्णय गर्दैछ।

एक्यबद्धता

संसदीय छलफलमा बोल्दै बृटिश प्रधानमन्त्री डेविड क्यामरनले आइएस बिरुद्धको लडाँइ बर्षौ जान सक्ने बताए।

उनले भने, “के बृटिश जनताहरुलाई जोखिम छ? भनेर सोधियो भने त्यसको जवाफ ‘छ’ भन्ने हुन्छ, आइएसएलले एक जना बृटिश बन्धकको हत्या गरिसकेको छ र अरु दुई जनाको जीवन खतरामा पारिसकेको छ।”

बेल्जीयमले पनि त्यस्तै सहयोग उपलब्ध गराउने बारे निर्णय गर्दैछ तर तीनवटै देशले सिरियामा भैरहेका आक्रमणमा सहभागी नहुने प्रष्ट पारेका छन्।

केही पश्चिमा नेताहरु सिरियामा बम हमला गर्ने बारे सावधान छन् किनभने इराकको सरकारले जस्तै सिरियाले आइएस बिरुद्धको लडाँइका लागी सहायता मागेको छैन।

उत्तर पूर्वी सिरियाका अधिंकाश क्षेत्रमा नियन्त्रण कायम गरेको आइएसले अघिल्लो बर्ष इराकको दोस्रो प्रमुख शहर मोसुल सहितको ठूलो क्षेत्रमा कब्जा जमाएको थियो।

अमेरिकी नेतृत्वमा हवाई हमला सुरु भएपछि उनीहरुले तीन जना पश्चिमा बन्धकहरुको घाँटी रेटेर हत्या गरेका छन्।

यसअघि युरोपेली संघको प्रतिआतंकवाद हेर्ने निकायका प्रमुखले बीबीसीसँग कुरा गर्दै झन्डै तीन हजार युरेपेलीहरु इस्लामि समूहहरुमा सामेल हुन त्यस क्षेत्रमा गएको बताएका थिए।