हङ्कङ्मा हजारौं मानिस प्रदर्शनमा

  • 28 सेप्टेम्बर 2014
तस्वीर कपीराइट GETTY IMAGES
Image caption स्कूल र विश्वविद्यालयका हजारौं विद्यार्थी कक्षा छाडेर प्रदर्शनमा उत्रिएका छन्

हङ्कङ्मा नागरिक अवज्ञा आन्दोलन चर्काउने उदेश्यले ‘कुपाइ-सेन्ट्रल’ अभियान घोषणा गरिएको छ।

प्रहरी र विद्यार्थी कार्यकर्ताहरुबीच बारम्बार भिडन्त भएपछि अचानक उक्त अभियान घोषणा गरिएको हो।

शनिवार हङ्कङ्को केन्द्रमा रहेको सरकारी मुख्यालय अघिल्तिर हजारौं मानिसहरु भेला भएका थिए।

कक्षा बहिष्कार

‘अकुपाई सेन्ट्रल’ अभियानका सह-संस्थापक बेन्नी टाईले उनीहरुलाई सम्बोधन गर्दै हङ्कङ्को मुटु मानिने व्यापारिक केन्द्रका गतिविधि अवरुद्ध पार्ने घोषणा अकस्मात गरे।

६० जनाभन्दा बढी विद्यार्थी प्रदर्शनकारी गिरफ्तार गरिए लगत्तै उनले पहिले अनुमान गरिएभन्दा अघि नै उक्त घोषणा गरेका हुन्।

स्कूल र विश्व विद्यालयका विद्यार्थीहरुले कयौं दिनदेखि कक्षा बहिष्कार गर्दै लगातार प्रदर्शन गरिरहेका छन्।

तस्वीर कपीराइट a
Image caption विद्यार्थी गिरफ्तार भएपछि अवज्ञा आन्दोलन घोषणा गरिएको छ

उक्त प्रदर्शनमा विभिन्न उमेर समूहका हजारौं मानिसहरु सहभागी भएका थिए।

गत बिहिवार त विश्व विद्यालयका दुई हजार विद्यार्थीहरुले हङ्कङ्का प्रमुख कार्यकारी सी लिउङ्को निवास अगाडि रातभरी धर्का दिए।

माग

शुक्रवार भने प्रदर्शनकारीहरु निधेषित क्षेत्रमा प्रवेश गरेपछि गिरफ्तार गरिएको अधिकारीहरुले जनाएका छन्।

प्रजातान्त्रिक सुधारका निम्ति वार्ता गर्न शहरका नेताले अस्वीकार गरेपछि त्यसप्रति विरोध जनाउन भन्दै प्रदर्शनकारीहरु हङ्कङ्को मुख्य सरकारी भवनमा प्रवेश गरेका थिए।

विद्यार्थी र अधिकारकर्मीहरु सन् २०१७ मा पूर्ण प्रजातान्त्रिक रुपमा निर्वाचन गराउनु पर्ने माग अस्वीकार गर्ने बेइजिङ्को निर्णय विरुद्ध छन्।

उनीहरुले भावि प्रजातान्त्रिक सुधारबारे सार्वजनिक परामर्शको पुन: थालनी र सन् २०१७ को चुनाव सम्बन्धि चीन सरकारले हालै जारी गरेको कानुन खारेज गर्नु पर्ने माग गरिरहेका छन्।