अफगानिस्तानद्वारा सुरक्षा सम्झौता अनुमोदन

  • 30 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption चुनावमा अनियमितता भएको भन्दै अफगानिस्तानमा ६ महिनासम्म अन्यौल छाएको थियो

अफगान सरकारले अमेरिकी तथा नेटोका सेनालाई यस वर्षको अन्त्यपछि पनि रहन दिने, निकै लामो समयदेखि अल्झिएको दुईवटा सुरक्षा सम्झौतालाई अनुमोदन गरिदिएको छ।

नयाँ राष्ट्रपति अशरफ गानीले कार्यभार सम्हाले लगत्तै उक्त सम्झौता अनुमोदन गरिएको हो।

उक्त सम्झौता बमोजिम सन् २०१४ पछि पनि करीब १० हजार अमेरिकि सेना अफगानिस्तानका सुरक्षा फौजलाई प्रशिक्षित र सहयोग गर्ने उद्देश्यले त्यहीं रहनेछ।

अफगान राष्ट्रपति गानीको उपस्थितिमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार हनीफ अत्मर तथा काबुलस्थित अमेरिकि राजदूत जीम कनिङ्गामले सो सम्झौतामा मंगलबार हस्ताक्षर गरे।

पूर्व राष्ट्रपति हमीद कारजाईले उक्त सम्झौता गर्न नमानेपछि काबुल र वाशिङ्गटनबीचको सम्बन्ध निकै चिसिएको थियो।

नेतृत्व

यस वर्षको अन्त्यतिर अधिकांश नेटो फौज अफगानिस्तानबाट फर्कनेछ।

त्यसपछि त्यहाँ केवल ९८०० जति अमेरिकी फौज रहनेछन्।

अर्को एक छुट्टै नेटोसंगको सहमति बमोजिम खासगरी जर्मनी र इटलीका केही सैनिक सहित गरी कूल साढे १२ हजार फौज अमेरिकाको नेतृत्वमा त्यहाँ रहनेछन्।

पछिल्लो सम्झौताले ती फौजलाई प्रति आतंकवादी कारवाहीका निम्ति अफगानिस्तानमा रहन दिनेछ।

कार्यभार सम्हाले लगत्तै सम्झौतामा हस्ताक्षर गरेर राष्ट्रपति गानीले अमेरिकासंगको सम्बन्धलाई मजबूत पार्ने संकेत दिएको विश्लेषकहरुले ठानेका छन्।

गानीले सोमबार राष्ट्रपतिको पद सम्हालेका थिए।

हालै अर्का प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाहसंग शक्ति बाँडफाँड सहमति भएपछि गानी राष्ट्रपति भएका हुन्।