हंगकंगमा प्रमुख कार्यकारीको राजीनामा माग

  • 30 सेप्टेम्बर 2014
तस्वीर कपीराइट
Image caption हंगकंगका प्रमुख कार्यकारी सी वाई लिउंगले जारी प्रदर्शनलाई गैरकानूनी भनेका छन्

हंगकंगमा प्रदर्शन गरिरहेका प्रजातन्त्र समर्थक दशौं हजार प्रदर्शनकारीहरुद्वारा सरकारमाथि दबाब बढाउने क्रम जारी छ।

त्यहाँका शान्तिपूर्ण प्रदर्शनकारीका अगुवाहरुले प्रमुख कार्यकारीको राजीनामाको माग गरेका छन्।

उनीहरुले एक विज्ञप्ति जारी गर्दै पूर्ण प्रजातन्त्र नदिएमा इतिहासमा प्रमुख कार्यकारी सी वाई लिउंगको निन्दा हुने बताएका छन्।

हंगकंगको मध्यभागमा शान्तिपुर्ण प्रदर्शन गर्दै दशौं हजार प्रदर्शनकारीहरुले लगातार पाँचौ दिन पनि प्रदर्शन जारी राखेका छन्।

वातावरण

एक जना प्रदर्शनकारीले भने, “प्रहरीले बल प्रयोग गरेपनि हामीले बल प्रयोग गर्नु हुँदैन। हामीले हंगकंगको भविष्यको लागि प्रदर्शन गरेका हौं।”

आज्ईतबार प्रहरीले टियर ग्यासको प्रयोग गरेपछि प्रदर्शनकारीहरुको संख्या बाक्लिएको छ।

प्रदर्शनकारीहरु भन्छन् चीनले हङकङका नागरिकहरुलाई सन् २०१७मा अर्को नेता चयन गर्ने बेलामा स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण तयार गर्नुपर्दछ।

चीनले विदेशी देशहरुलाई हंगकंगको मामिलामा नमुछिन चेतावनी दिएको छ।

प्रतिबन्ध

उसले प्रदर्शनहरुबारे समाचार संप्रेषण गर्न चीनका सञ्चारमाध्यममाथि कडा प्रतिबन्ध लगाएको छ।

ब्रिटेन र अमेरिकाले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको रक्षा गर्न आग्रह गरेका छन्।

ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले भने, “हंगकंग लगायत विश्वभर अन्तर्राष्ट्रिय रुपमा स्थापित वाक स्वतन्त्रता र भेला हुन पाउने अधिकारको अमेरिकाले समर्थन गर्दछ। हंगकंगका अधिकारीहरुलाई संयमित हुन र प्रदर्शनकारीहरुलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न अमेरिकाले आग्रह गर्दछ।”