हंगकंगमा थप प्रदर्शन

  • 1 अक्टोबर 2014
तस्वीर कपीराइट Reuters
Image caption विरोध प्रदर्शन भइरहँदा चीनले सामाजिक सञ्जालहरुमा प्रदर्शनबारे हुने छलफलमाथि सेन्सर कडा बनाइरहेको छ।

बेइजिंग समर्थक नेताहरुले चीनको राष्ट्रिय दिवस मनाइरहँदा हंगकंगमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुको प्रदर्शन थप अन्य क्षेत्रमा फैलिएको छ।

चीनमा कम्युनिष्ट पार्टीले सत्ता लिएको ६५ औं दिवस मनाइरहँदा प्रदर्शनकारीहरुले हंगकंग बन्दरगाहको दुबै पट्टि पर्ने चार मुख्य केन्द्रहरुमा प्रदर्शन विस्तार गरेका हुन्।

यदि हंगकंगका प्रमुख कार्यकारी सि वाइ लियुङगले बिहीबारसम्म राजीनामा नदिए आफूहरुले सरकारी भवनहरु कब्जा गर्न थाल्ने एक विद्यार्थी नेताले बताएका छन्।

मध्य हंगकंगमा भइरहेको प्रजातन्त्र समर्थकहरुको प्रदर्शनमा हजारौं अन्यले सहभागिता जनाएका हुन्।

हंगकंगमा सन् २०१७ मा नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा चीनले स्वीकृति दिएका उम्मेद्वारहरुमात्र लड्न पाउने योजना उल्ट्याइनुपर्ने भन्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन्।

शर्त

नेता लियुङ्गले राष्ट्रिय दिवसको अवसरमा झन्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै प्रदर्शनकारीहरुलाई बेइजिंगले तय गरेको निर्वाचन प्रणालीमा विश्वास गर्न आह्वान गरेका थिए।

सन् २०१७ मा हुने पहिलो प्रत्यक्ष निर्वाचनमा दिइने उम्मेदवारी बारे बेइजिंगले राखेको बन्देज विरोधी आफ्ना माग फिर्ता लिन उनले प्रदर्शनकारीहरुलाइ आग्रह गरे।

बेइजिंगले अघिल्लो महिना हंगकंगका जनताले नयाँ नेता चयन गर्न पाउने भए पनि बेइजिंग समर्थक समितिले अनुमति दिएका उम्मेद्वारले मात्रै चुनाव लड्न पाउने निर्णय गरेको थियो।

हंगकंगको विद्यार्थीहरुको संगठनका एक नेता लेस्टर शमले भने, लियुङ्गले सप्ताहान्तमा प्रहरीलाई अश्रुग्याँस प्रयोग गर्न निर्देशन दिएपछि अब उनीसँग वार्ताका लागि कुनै ठाउँ छैन।

शमले विद्यार्थी नेताहरुले लिउङ्गसँग वार्ता गर्न अस्वीकार गरे पनि चीनको केन्द्रीय सरकारका अधिकारीहरुसँगको संवादलाई भने अवसरको रुपमा स्वीकार गर्ने बताए।

लिउङ्गले राजीनामा गर्न अस्वीकार गर्दै आएका छन्।

प्रदर्शनकारीहरु मुख्य प्रदर्शन भइरहेको क्षेत्र सेन्ट्रल विजनेस डिस्ट्रिक्ट, कजवे बे र मंगककमा भेला भएका छन्।