पञ्जावको बालीमा विषादी

  • 1 अक्टोबर 2014
विषादी प्रयोग गर्दै किसान
Image caption बीबीसीले भारतको पञ्जाबमा गरेको एउटा अध्ययनका क्रममा प्रतिबन्धित कीटनाशक औषधीहरुको प्रयोग भइरहेको पाइएको छ

विकसित मुलुकहरुमा गरिएका अध्ययनहरुले नयाँ कीटनाशक औषधीहरुको प्रयोगले पर्यावरण प्रणालीलाई असर पारिरहेको देखाएका बेला विकासशील देशहरुले पुराना कीटनाशक औषधीहरुको अझै व्यापक रुपमा प्रयोग गरिरहेको पाइएको छ।

विज्ञहरुले तीमध्ये केही धेरै हानिकारक भएको र अन्तर्राष्ट्रिय प्रयासहरुले तिनीहरुको प्रयोग नगर्नमा सहयोग गरेको बताएका छन्।

तर केही मुलुकहरुमा त्यसको प्रयोग रोक्न निकै कठिन भएको र भारत सबैभन्दा चुनौतीको रुपमा रहेको उनीहरुको भनाइ छ।

भारत एउटा ठूलो कृषिजन्य वस्तु उत्पादन गर्ने मुलुक हो र बोटविरुवामा प्रयोग हुने औषधीहरुको एउटा महत्वपूर्ण निर्यातकर्ताको रुपमा पनि उदाएको छ।

भारतका सरकारी अधिकारीहरुले हानिकारक कीटनाशक औषधीहरुको प्रयोगको नियमन नीतिहरुलाई कडा पारिएको बताएका छन्।

मापदण्ड

तर त्यो युरोपेली मापदण्ड अनुरुप नै भएको भन्न नसकिने उनीहरुको भनाई छ।

भारतका कीटनाशक औषधी उत्पादकहरुले आफ्ना कुनै पनि उत्पादन हानिकारक नभएको र आफूहरुविरुद्ध लगाइने आरोपहरु निराधार भएको बताएका छन्।

गत वर्ष उत्तरी भारतको बिहार राज्यमा खाजा खाएपछि २० जनाभन्दा बढी स्कूले विद्यार्थीहरुको ज्यान गएको थियो।

उनीहरुले खाएको खाजामा पुरानो र निकै हानिकारक मानिने मोनोक्रोटोफोस नामक कीटनाशक औषधीको प्रयोग भएको पाइएको थियो।

ग्रीन पीस इण्डियाले हालै भारतीय चियाको नमुनामा डीडीटी लगायतका हानिकारक कीटनाशक औषधीहरुको अंश पाइएको जनाएको थियो।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको नीतिसम्बन्धी वरिष्ठ अधिकारी ह्यारि भान डेर वुल्पले भने, “यस्ता कीटनाशक ‍औषधीहरुको प्रयोगको समस्याबारे भारतमा पनि राम्रोसंग अभिलेखहरु राखिएका छन्।”

उनले खासगरी मोनोक्रोटोफोस र मेथाइल पाराथियोनले विकासशील देशहरुमा गम्भीर समस्या निम्त्याएको बताए।

‘जोखिम’

विश्व स्वास्थ्य संगठनको एउटा रिपोर्टले स्वास्थ्यमा गम्भीर असर पार्ने जोखिम भएकोले मोनोक्रोटोफोसको प्रयोगमा प्रमुख एसियाली मुलुकहरुले प्रतिबन्ध लगाएपनि भारतमा त्यसको उत्पादन, प्रयोग र निर्यात जारी रहेको जनाएको छ।

उक्त रिपोर्टमा भनिएको छ, “त्यस्ता हानिकार कीटनाशक औषधीको उपलब्धता र मागमा कमी ल्याउनका निम्ति विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनको सुझाव अनुसार तत्काल कदम चाल्न आवश्यक छ।”

बीबीसीले भारतको पञ्जाबमा गरेको एउटा स्थलगत अध्ययनका क्रममा भारतीय सरकारद्वारा नै प्रतिबन्धित कीटनाशक औषधीहरुको प्रयोग त्यहाँका किसानहरुले गरिरहेको देखिएको छ।

पञ्जाब भारतको खाद्य भण्डारको रुपमा चिनिन्छ।

नाम नखुलाउने शर्तमा संगुर जिल्लाका एकजना किसानले अझै इन्डोसल्फान नामक हानिकारक र प्रतिबन्धित कीटनाशकको प्रयोग गरिरहेको बीबीसीलाई बताए।

उनले भने, “किराहरु अत्यन्त शक्तिशाली भएको बेला र अन्य कीटनाशक औषधीहरु प्रभावकारी नभएको बेला मैले यो औषधी किनेको थिएँ।”

त्यस्ता किराहरु देखिए भविष्यमा फेरि यो कीटनाशक आवश्यक पर्न सक्ने भन्दै उक्त औषधीको बट्टा लुकाउन उनी रुखको टोड्कातर्फ लागे।

विषादी प्रयोग

Image caption भारतको खाद्य भण्डारको रुपमा चिनिने पञ्जावमा कीटनाशक औषधीको अधिक प्रयोग गरिन्छ

उनले भने, “यसको यति धेरै गन्ध छ कि छर्किने बेला हामी सबैको टाउको दुख्छ।”

नजिकैको खेतमा अर्का किसान हरदर्शन सिंह नांगो हातले दुई थरिका कीटनाशक औषधीहरु मिसाइरहेका थिए।

त्यस लगत्तै उनले नांगो हात र मास्क, चश्मा वा अन्य कुनै सुरक्षित लुगाहरु नलगाई कीटनाशक औषधी छर्किन थाले।

उनले भने, “यहाँ हामी सबैले यसरी नै गर्छौं र हामीलाई केही हुँदैन। हामी धेरै बलिया छौं।”

औषधी छर्केपछि उनका हातहरु नीला भए।

त्यसपछि रातो हुने र केही दिनसम्म त्यस्तै रहिरहने उनले बताए।

७५ वर्षदेखि किसान रहेका सोही जिल्लाका सुखवन्त सिंह सबै खाले कृषि उत्पादनहरु निकै प्रदुषित भएको बताउँछन्।

उनले भने, “केही दशकयता कीटनाशक औषधीहरुको व्यापक प्रयोगका कारण हामीले स्वास लिने हावा, खाने खाना र पिउने पानी लगायतका पदार्थहरु विषालु भईसकेका छन्।”

‘क्यान्सर’

उनले क्यान्सरबाट आफ्नी बहिनी र श्रीमतिको मृत्यु भएको र कीटनाशक औषधीहरुको प्रदुषणका कारण पञ्जाबमा अचेल धेरै मानिसहरुमा क्यान्सर भएको हुन सक्ने बताए।

कीटनाशक औषधीहरुको प्रयोगका कारण क्यान्सर रोगीहरुको संख्यामा वृद्धि भईरहेको अरु धेरै पञ्जाबीहरुको विश्वास रहेपनि त्यसबारे कुनै विस्तृत अध्ययन भएको छैन्।

पञ्जाबका कृषिमन्त्री तोता सिंहले भने, “यस्ता अध्ययन गर्नका लागि हामीसँग बजेट छैन्, त्यसका लागि करोडौ रुपैयाँ आवश्यक पर्न सक्छ।”

उनले पर्याप्त रकम र विज्ञता पनि भएकोले त्यस्ता अध्ययन केन्द्र सरकारले गर्नुपर्ने औल्याए।

पञ्जाबस्थित कीटनाशक औषधी विक्रेताहरुले पुराना र अत्यन्त हानिकारक कीटनाशकहरु सम्हाल्न नजानेकाले किसानहरु बिरामी हुने गरेको बताएका छन्।

लेहारगागा गाउँ नजिकैका एकजना विक्रेता गुरिन्दर सिंहले भने, “उदाहरणका लागि मोनोक्रोटोपोसको प्रत्येक प्याकेटको लेबलमै तरकारीमा प्रयोग नगर्न स्पष्ट रुपमा लेखिएको हुन्छ, तर हामीसँग किनेर उनीहरुले बिना कुनै सुरक्षा तरकारीमा प्रयोग गर्छन्, मालाथियन लगायत पुराना कीटनाशकहरुको हकमा पनि त्यस्तै छ।”

किसानहरुले सावधानीपूर्वक कीटनाशकहरुको प्रयोग नगरिरहेको र आफूहरुलाई नजोगाएको भारतीय कृषि मन्त्रालयका उप-महानिर्देशक स्वपन के दत्तले स्वीकार गरे।

उनले भने, “मानिसहरुले कीटनाशक छर्कने बेला मास्क, पञ्जा र मिल्ने जुत्ता तथा शरिर ढाक्ने लुगाको प्रयोग नगरेको विगतमा मैले पनि देखेको छु, धेरै विकासशील मुलुकहरुमा यस्तो समस्या छ।”

प्रतिबन्ध

सरकारले धेरै कीटनाशकको प्रयोगमा प्रतिबन्ध लगाएपनि स्थानीय उत्पादक वा विक्रेताहरुले उत्पादन गर्नु र स्थानीय किसानले त्यो बुझ्न नसक्नु समस्याको अर्को पाटो भएको उनको भनाइ थियो।

तर केही मुलुकहरुमा प्रतिबन्धित भइसकेका औषधीहरुमा प्रतिबन्ध नलगाउने भारतीय सरकारको निर्णयको दत्तले बचाउ गरे।

उनले भने, “केही औषधीमाथि अन्तर्राष्ट्रिय निकायहरुले प्रतिबन्ध लगाएकोले भारतले पनि त्यस्तै गर्न आवश्यक छैन्, किनभने भारतमा कीटनाशक प्रयोगको मात्रा, यहाँको कृषिका लागि जलवायुको अवस्था र वालीनालीको विविधता फरक छ।”

भारतीय कीटनाशक औषधी उत्पादकहरुको संस्था क्रप केयर फेडेरेसन अफ इण्डियाका प्रमुख राजु श्रफले भारतमा मात्र प्रयोग भईरहेका कीटनाशकहरु हानिकारक नभएको बताए।

उनले भने, “यसअघि मोनोक्रोटोफोस युरोप र अमेरिका लगायतका मुलुकमा प्रयोग हुन्थ्यो। तर जब भारतीय कम्पनीहरुले उत्पादन सुरु गरे र निर्यात गर्न थाले, त्यसपछि युरोपेली कम्पनीहरुले मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकेनन्। त्यसकारण तिनीहरुको दर्ता खारेज भयो।”

उनले मोनोक्रोटोफोस निकै नशालु भएपनि त्यसको प्रयोगले त्यो एकदम सुरक्षित पनि रहेको पुष्टि भएको बताए।

उनले भने, “भारतले हानिकारक वा प्रतिबन्धित कीटनाशकको प्रयोग गरिरहेको कुरा पश्चिमाहरुको स्वार्थमा बनाइएको मनगढन्त कहानी हो।”

शुद्धीकरण

पानीका स्रोतहरुमा कीटनाशकहरुको चुहावटका कारण मिसावट भएकोले २० हजार शुद्धीकरण केन्द्रहरुका लागि भारत सरकारले पछिल्लो बजेटमा ठूलो रकम छुट्याएको थियो।

विज्ञहरु भन्छन् भारत सरकारको अहिलेको प्राथमिकता उत्पादन बढाउनका लागि किसानहरुले वर्षौदेखि प्रयोग गर्दै आएका कीटनाशकहरु हटाउनुभन्दा मुलुकको खाद्य सुरक्षालाई निश्चित पार्ने हो।

पेस्टिसाइड एक्सन नेटवर्कका कार्यकारी निर्देशक सरोजेनी रेंगम भन्छिन्, “विगतमा इन्डोसल्फानको प्रयोगमा विश्वव्यापी प्रतिबन्ध लगाउनका लागि सूचीकृत गरिएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भारतले निकै साथ दिएको थियो।”

उनले थपिन्, “फेरि सन् २०१३ मा आएर अर्को अन्तर्राष्ट्रिय सम्मेलनमा निकै हानिकारक मानिने पाराक्वाटमा प्रतिबन्ध लगाउनका लागि सुचीकरण गर्ने प्रस्तावमा भारतले समर्थन जनाएन। उक्त प्रस्ताव पारिए भएको भए त्यसको अनावश्यक आयातमाथि कारवाही गर्न सरकारहरुलाई बाटो खुल्ने थियो।”