प्रमुख कार्यकारीद्वारा वार्ताकालागि आह्वान

  • 3 अक्टोबर 2014
तस्वीर कपीराइट other
Image caption हंगकंगमा प्रदर्शन जारी भइरहँदा त्यहाँका सामाजिक सञ्जालहरुमा प्रदर्शनबारे कडा सेन्सर लगाइएको छ।

हङकङका प्रमुख कार्यकारी सि वाइ लियुङ्गलेप्रदर्शनकारी विद्यार्थी नेताहरुलाई वार्ताकालागि आह्वान गरेका छन्।

हङकङमा लगातार पाँच दिनसम्म प्रजातन्त्रपक्षीय प्रदर्शनहरु जारी रहँदा उनले त्यस्तो आह्वान गरेका हुन्।

यसअघि विद्यार्थी नेताहरुले बिहीबार मध्य रातीसम्ममा लियुङ्गले आफ्नो पदबाट राजीनामा नदिए हङकङका सरकारी कार्यालयहरुमा कब्जा जमाउने चेतावनी दिएका थिए।

तर ल्युङले आफ्नो पद नछाडने बताए।

चेतावनी

उनले प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरु कब्जा गरेमा त्यसको गम्भीर परिणाम हुने चेतावनी पनि दिए ।

यसअघि हंगकंग सरकारले प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरुलाई शान्तिपूर्ण रुपमा हट्न आव्हान गरेको थियो।

सरकारी कार्यालयहरु वरपर भीड जम्मा भएपनि साप्ताहिक छुट्टीपछि शुक्रबार हजारौं सरकारी कर्मचारीहरुले आफ्नो काममा फर्कने प्रयास गर्ने हंगकंग सरकारले जनाएको छ।

यसैबीच चीनको सरकारी सञ्चारमाध्यमले प्रजातन्त्र समर्थक प्रदर्शनकारीको निन्दा गर्दै हंगकंगका कार्यकारी प्रमुख लियुङ्गप्रति समर्थन जनाएका छन्।

लियुङ्गले राजीनामा नगरे सरकारी भवनहरु कब्जा गर्ने चेतावनी विद्यार्थी नेताहरुले दिइरहेको बेला कम्युनिष्ट पार्टीको आधिकारिक पत्रिका पिपल्स डेलीको समर्थन आएको हो।

असन्तुष्टि

हंगकंगमा सन् २०१७ मा हुने चुनावमा चीन आफैँले अनुमति दिएका उम्मेद्वार मात्रै हंगकंगमा उठन पाउने उसको निर्णयप्रति प्रदर्शनकारीहरुले असन्तुष्टि जनाउँदै आफूहरुले पूर्ण रुपमा प्रजातन्त्र चाहेको बताइरहेका छन्।

बुधबार चीनका विदेशमन्त्री वांग यीले प्रदर्शनलाई गैरकानुनी भन्दै विदेशी हस्तक्षेपप्रति पनि सचेत गराएका थिए।

बिहीबार पिपल्स डेली पत्रिकाको पहिलो पृष्ठमा प्रकाशित सम्पादकीयमा हंगकंगको अवस्थालाई लियुङ्गले जुन रुपमा सम्हालेका छन्, त्यसको प्रशंसा गरिएको छ।

केन्द्रिय सरकार लियुङ्गको कामप्रति पूर्ण रुपमा सन्तुष्ट रहदैँ आएको र अब पनि उनीप्रति पूर्ण विश्वस्त रहेको सम्पादकीयमा उल्लेख छ।

‘बेइजिंगले आउने दिनहरुमा पनि लियुंग नेतृत्वको प्रशासनलाई बलियो रुपमा समर्थन गर्नुका साथै गैरकानुनी रुपमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरी खटाउने उनको कदमलाई साथ दिनेछ,’ सम्पादकीयमा थप लेखिएको छ।