'सार्वजनिक भवनहरुमा अवरोध नगर्न चेतावनी'

  • 3 अक्टोबर 2014

हङकङका प्रमुख कार्यकारी सी वाइ लिउङ्गले ले प्रजातन्त्रपक्षीय प्रदर्शनकारीहरुलाई विद्यालय तथा सार्वजनिक भवनहरुमा अवरोध नगर्न आह्वान गरेका छन्।

तस्वीर कपीराइट EPA
Image caption प्रदर्शनकारीहरु र स्थानीय सरकारबीच प्रस्तावित वार्ताको मिति तय भइसकेको छैन

टेलिभिजनबाट दिइएको एक वक्तव्यमा उनले प्रदर्शनकारीहरुलाई शान्तिपूर्वक तितरवितर हुन आग्रह गरेका छन्।

शुक्रबार बेइजिङ समर्थक समूहहरुसंग भीडन्त भएपछि प्रदर्शनकारीहरुले प्रहरीमाथि हमलाकारीहरुलाई संरक्षण दिएको आरोप लगाएका थिए।

तर हङकङ प्रहरीका सहायक आयुक्त चोङ ताक क्युङले भने, "प्रहरीले मोङकोक क्षेत्रमा ट्रायड समूहका सदस्यहरुलाई हुलदङ्गा गर्न दिएको भन्ने आरोपहरु पनि लगाइएको छ। म के कुरामा जोड दिन चाहन्छु भने यी आरोपहरु पुरै आधारहीन छन् र इमान्दारीपूर्क आफ्नो ड्युटी गरिरहेका प्रहरीहरु प्रति अनुचित पनि छन्।"

वार्ता

प्रदर्शनकारीहरुले हिजोको भीडन्तहरुपछि सरकारी अधिकारीहरुसंगको वार्तामा नबस्ने जनाएका छन्।

शनिबार बिहान पनि मङ कोक तथा कजवे बे व्यापारिक क्षेत्रमा प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरु तथा ती प्रदर्शनका विरोधीहरुबीच झडपहरु भएका थिए।

एकजना प्रदर्शनकारी रोनाल्ड चानले भने, “हामी शान्तिपूर्वक प्रदर्शन गरिरहेका छौं तर उनीहरुले हामीलाई जबर्जस्ती यहाँबाट हटाउन चाहन्छन्। त्यो गलत हो। त्यसैले सरकारसंग वार्तामा नबस्ने निर्णय सही छ।“

हंगकंगका प्रजातन्त्र समर्थक समूहहरुले उनीहरु विरुद्ध भइरहेका हमला नरोकिए त्यहाँको स्थानीय सरकारसंगको प्रस्तावित वार्तामा नबस्ने चेतावनी दिएका छन्।

शुक्रबार हंगकंगका सडकमा विरोध प्रदर्शनकारीहरु तथा बेइजिंगसमर्थकहरु बीच हिंसात्मक झडपहरु भएका थिए।

हंगकंगका प्रमुख कार्यकारी सी वाइ लिउङ्गले प्रदर्शनकारीहरुसंग आफु वार्ता गर्न तयार रहेको बताए।

आह्वान

टेलिभिजनबाट दिइएको एक वक्तव्यमा उनले प्रदर्शनकारीहरुलाई विद्यालय तथा सार्वजनिक भवनहरुमा अवरोध नगर्न पनि आह्वान गरे।

प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुले चाहिं उनीहरु विरुद्ध लक्षित संगठित हमलाहरुलाई हंगकंग प्रशासनले तत्काल रोक्नु पर्ने माग गरेका छन्।

शुक्रबार हंगकंगका सडकमा विरोध प्रदर्शनकारीहरु तथा बेइजींग समर्थकहरु बीच हिंसात्मक झडपहरु भएका थिए।

हंगकंगका प्रमुख कार्यकारी सी वाइ लिउङ्गले प्रदर्शनकारीहरुसंग वार्ता गर्न तयार रहेको बताएका छन्।

प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुले भनेका छन्, उनीहरु विरुद्ध लक्षित संगठित हमलाहरुलाई हंगकंग प्रशासनले तत्काल रोक्नु पर्छ।

हंगकंगमा हुने आगामी निर्वाचनमा आफुले स्वीकार गरेका उम्मेदवारहरु मात्र लड्न पाउने भन्ने चीनको निर्णयप्रति क्रुद्ध भएका प्रदर्शनकारीहरुले हंगकंगका विभिन्न भागमा कब्जा जमाइ रहेका छन्।

यसअघि उनीहरुले हंगकंगका प्रमुख कार्यकारीले वार्ताको लागि गरेका आव्हान स्वीकारेका थिए।

काउलुन प्रायदीपस्थित व्यापारिक केन्द्र मोङ्ग कोकमा प्रदर्शनकारीहरुका पालहरु बेइजींग समर्थक समूहहरुले उखेलिदिएका थिए।

क्रुद्ध

प्रदर्शन विथोल्न गरिएका प्रयासबाट धेरै स्थानिय बासिन्दा क्रुद्ध भएका छन्।

दुई थरी समूहका झडपहरु रोक्न ठाउँठाउँमा प्रहरीले बीचमा मानव पर्खालजस्तो बनाएको थियो।

प्रदर्शनकारीहरुका तीन मुख्य समूहले एक वक्तव्य जारी गर्दै अकुपाई आन्दोलनलाई विथोल्ने संगठित प्रयास नरोकिए वार्ता रद्द हुने बताएका छन्।

प्रदर्शनकारीहरु चाहन्छन् बेइजींगले हंगकंगका नागरिकहरुलाई तिनका नेता स्वतन्त्र चयन गर्न देओस्।

हंगकंग सरकारसंग उनीहरुको प्रस्तावित वार्ताको मिति भने प्रष्ट भइसकेको छैन।