अमेरिकि बन्दी रिहाई गर्न आइएसलाई अपील

  • 5 अक्टोबर 2014
तस्वीर कपीराइट bbc
Image caption सिरियालीहरुको सहयोगमा खटिएका पीटर कासिगलाई आइएसले बन्दी बनाएको छ

अमेरिकि बन्दी पीटर कासिगका आमाबुबाले इस्लामिक स्टेट विद्रोहीहरुलाई दया गरी उनलाई रिहा गर्न अपील गरेका छन्।

आफ्ना छोरालाई हाल उनले प्रयोग गर्दै आएको नाम अब्दुल रहमानबाट सम्बोधन गर्दै एड र पाउला कासिगले उनले गर्दै आएको सहयोग कार्यप्रति आफुहरुलाई गौरव लागेको जनाएका छन्।

पीटरका आमाबुबाले भिडियो सन्देश जारी गर्दै छोराको रिहाईका निम्ति अपील गरेका हुन्।

अमेरिकि सरकारको नीतिमाथि आफुहरुको कुनै नियन्त्रण नभएकाले त्यससंग जोडेर आफ्नो छोरालाई बन्दी बनाइनु नहुने उनीहरुको संकेत थियो।

कासिगका पिता एड ले भनेका छन् मुस्लिम धर्म अपनाएका उनका छोराले मानवीयताका नातामा त्यहाँ काम गर्दै आएका हुन्।

‘हाम्रो परिवारले सम्पूर्ण मानव जातिको कष्टको र निर्दोषहरुको हत्याको भर्त्सर्ना गर्दछ। चाहे जो सुकै जिम्मेवार भएपनि हामी सहयोग पुर्याउन चाहन्छौं। हाम्रो छोराले पनि त्यही मानवीय सिद्धान्तको आधारमा उसको जीवन जिउँदै थियो जतिखेर उसलाई बन्दी बनाइयो,’ एडले भने।

धम्की

उनीहरुले जारी गरेको भीडियो सन्देश इस्लामिक स्टेट विद्रोहीहरुले हालै जारी गरेको एक भिडियो पश्चात गरिएको छ जसमा विद्रोहीहरुले एक ब्रिटिश सहायताकर्मी एलान हेनिंगको टाउको छिनाएर हत्या गरिएको देखाइएको थियो।

उक्त भिडियोको अन्तमा २६ वर्षीय कासिगलाईपनि मारिदिने धम्की दिइएको थियो।

आइ एस विद्रोहीहरुले यसअघि अमेरिकि पत्रकार जेम्स फोले, इजरायली अमेरिकि पत्रकार स्टेभेन सटलफ र ब्रिटिश सहायता कर्मी डेभिड हेन्सको हत्या गरिसकेका छन्।

पीटरका आमा बुबाका अनुसार उनी आफैंले स्थापना गरेको सहायता संस्था स्पेशल इमरजेन्सी रेस्पन्स एन्ड असिस्टेन्समार्फत सिरियाली मानिसहरुको सहयोगमा खटिएका थिए। र, उनले मुस्लिम धर्म अपनाएका थिए।