'बस दुर्घटनामा २९ को मृत्यु'

  • 6 अक्टोबर 2014
Image caption पहाडी सडकहरुमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण बसहरु दुर्घटनामा पर्ने गरेको बताइन्छ।

डोटीको जोरायलबाट धनगढी आउंदै गरेको यात्रुवाहक बस सोमबार अपरान्ह् डोटीको छतिवन गाविसको बाँझीलेक भन्ने ठाउँमा दुर्घटना हुँदा २९ जनाको ज्यान गएको प्रहरीले बताएका छन्।

दशैँ मनाउने यात्रुले खचाखच भरिएको उक्त बस दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।

घटनास्थलमा अझै केही व्यक्तिहरु फसिरहेको हुन सक्ने अनुमान गरिएपनि अँध्यारोका कारण उद्दार हुन नसकेको अधिकारीहरूले बताए।

एक सय भन्दा बढी टिकट नकाटेका यात्रुहरू रहेको यात्रुवाहक बस सडक साँघुरो भएका कारण नियन्त्रण गर्न नसकेर २ सय ५० मिटर तल सडकमुनि खसेर दुर्घटना भएको बताइउको छ।

खचाखच

वर्षायामपछि पहिलो पटक जोरायल पुगेको यात्रुवाहक बस दशैँको टिका थाप्न र टिका थापेर फर्किएका एक सय भन्दा बढी यात्रु लिएर धनगढीतर्फ गइरहेको थियो।

उद्धार कार्यमा संलग्न एक जना स्थानीय महेश कठायतले झन्डै ३५ जना घाइतेहरुको चिन्ताजनक अवस्थामा उपचार भैरहेको जानकारी दिए।

कच्ची त्यसमा पनि साँघुरो सडक र मोडमा रहेको माटोको ढिस्कोका कारण चालकले बसलाई नियन्त्रणमा लिन नसकेर २ सय ५० मिटर तल खसेको उद्धार कार्यमा संलग्न प्रहरी निरीक्षक सागर बोहराले बताए।

उनले भने, “चालकले नियन्त्रण गुमाएको कारण दुर्घटना भएको देखिन्छ। ”

पहाडी सडकमा पटक पटक सवारी दुर्घटनामा परी नेपालमा बर्षेनी सयौँ जनाले ज्यान गुमाउने गरेका छन्।

तर पछिल्लोपटक धनगढी देखि डडेल्धुरासम्म ‘टाइम कार्ड’ अर्थात यात्रा पुरा गर्ने अवधिको सीमा लागू गरेपछि सडक दुर्घटनामा निक्कै कमी आएको दावी ट्राफिक प्रहरीले गर्दै आएको छ।

कच्ची सडक

सुदूरपश्चिम बस व्यवसायी समितिका उपाध्यक्ष पदम सापकोटा कच्ची र साँघुरो सडकका कारण पछिल्लो दुर्घटना भएको बताउँछन्।

उनले भने, “बाटो बनेपछि पहिलो पटक सो बस पठाइएको थियो, तर बाटो खराब रहेछ त्यही भएर दुर्घटना भयो।”

सडक दुर्घटना रोक्न सरकार र सरोकारवालाहरूले जति धेरै कुरा गरेपनि सडकको स्तरोन्नति र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कडा कारवाही नगरिँदा सवारी दुर्घटनाको क्रम नरोकिएको कतिपयको गुनासो छ ।