बन्दी आदानप्रदानको खबर 'विश्वसनीय'

  • 6 अक्टोबर 2014
kobane तस्वीर कपीराइट Reuters
Image caption टर्कीसंग सीमा जोडिएको सिरियाली शहर कोबानीबाट हजारौं मानिसहरु सुरक्षित स्थानतर्फ भागिसकेका छन्

टर्की र उग्रवादी समूह इस्लामिक स्टेटबीच ठूलो मात्रामा बन्दी आदानप्रदान भएको भनी आएका खबरहरु विश्वसनीय भएको ब्रिटिश अधिकारीहरुले बीबीसीलाई बताएका छन्।

एउटा ब्रिटिश अखबार द टाइम्सले इराकस्थित टर्कीको वाणिज्य दूतावासमा बन्दी बनाइएका ४९ जना बन्धकहरुको सकुशल मुक्तिका लागि टर्कीले १०८ जना लडाकुहरु आइएसलाई बुझाएको भन्ने खबर छापेको थियो।

बन्धक

मोसुलमा बन्धक बनाइएकामध्ये धेरै जसो टर्कीका थिए, जसलाई गत महिना आइएसले मुक्त गरिदिएको थियो।

त्यसको बदलामा छाडिएका आइएस लडाकुहरुमध्ये दुई जना ब्रिटिश नागरिक पनि भएको उक्त अखबारले जनाएको छ।

उता सिरियाली सीमा शहर कोबानी छिट्टै आइएसको नियन्त्रणमा जान सक्ने बताइएको छ।

त्यहांस्थित एक जना सिरियाली अधिकारी इद्रिस नसानका अनुसार आइएसले उक्त शहर नजिकैको रणनीतिक पहाड आफ्नो नियन्त्रणमा लिइसकेका छन्।

उनले भने, “आइएसका लडाकुहरु यदि कोबानीमा छिरे भने उनीहरुले नरसंहार गर्ने छन्, मान्छेहरु काट्नेछन्, बलात्कार गर्नेछन्”।

गम्भीर

कोबानीको पूर्वी भेगमा एउटा भवनमाथि आइएसको झण्डा फरफराइरहेको पनि देखिएको छ।

कोबानीभन्दा केही पर रहेका एक जना बीबीसी संवाददाताका अनुसार कोबानीमा भइरहेको गोलाबारी अत्यन्तै ठूलो छ।

शहरबाट धुंवाको मुस्लो निस्किरहेको र अवस्था अत्यन्तै गम्भीर जस्तो देखिएको बीबीसी संवाददाता पउल एडम्सले जनाए।