रुसेफले दोस्रो चरणको चुनाव बेहोर्नुपर्ने

  • 6 अक्टोबर 2014
रुसेफ तस्वीर कपीराइट AP
Image caption दोस्रो चरणमा रुसेफको दक्षिणपन्थी उम्मेदवार एसियो नेभिससंग कडा टक्कर हुने ठानिएको छ

ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले आईतबार भएको राष्ट्रपतिय निर्वाचनमा सबभन्दा धेरै मत पाएकी छन्। तर पहिलो चरणको मतदानमै विजयका निम्ति आवश्यक मत नपाएपछि अब उनले दोस्रो चरणको मतदानमा भाग लिनुपर्ने भएको छ।

पहिलो चरणको चुनावमा रुसेफले ४१ प्रतिशत मत पाएकी थिइन् भने दक्षिणपन्थी नेता एसियो नेभिसले ३४ प्रतिशत अनि समाजवादी उम्मेदवार तथा चर्चित वातावरणवादी मरिना सिल्भाले २१ प्रतिशत मत पाएका थिए।

अक्टोबर २६ तारीख हुने दोस्रो चरणको चुनावमा रुसेफ र नेभिसबीच कडा टक्कर हुने विश्लेषकहरुको अनुमान छ।

आईतबार भएको निर्वाचनमा १४ करोड भन्दा बढी मानिसहरु मत दिन योग्य थिए।

करीब ८० प्रतिशत मतदाताहरुले चुनावमा भाग लिए।

ब्राजिलमा १८ देखि ७० वर्ष उमेरका मानिसहरुलाई मतदान अनिवार्य गरिएको छ।

आईतबारकै चुनावमा ब्राजिलका जनताले कंग्रेस सदस्यहरु तथा क्षेत्रिय गभर्नरहरु निर्वाचित गरे।

अनुमान

तस्वीर कपीराइट AP
Image caption वातावरणवादी सिल्भाले २० प्रतिशत मत संगै तेस्रो स्थान पाएकी छन्

चुनावी अभियानको शुरुवाती चरणमा राष्ट्रपति रुसेफले पहिलो चरणमै सहज जित प्राप्त गर्ने ठानिएको थियो।

तर सोसलिष्ट पार्टिका उम्मेदवार एडवार्डो क्याम्पोसको विमान दुर्घटनामा निधन भएपछि उनको साटो मरिना सिल्भालाई उभ्याइयो।

त्यसले धेरै फरक पार्यो।

२१ प्रतिशत मत पाएकी सिल्भाले मतदान अघि ब्राजिलका जनता परिवर्तनको पक्षमा रहेको बताएकी थिइन्।

“ब्राजिलका जनता परिवर्तनका लागि दृढ छन्। सत्तरी प्रतिशत मानिसहरु चाहन्छन् हामीले भनेजस्तै वर्तमान सामाजिक कार्यक्रमहरुलाई यथावत राखि नौला अग्रगामी कार्यक्रमहरु लागु गरियोस्,” उनले भनेकी थिइन्

गत महिना भएका जनमत सर्वेक्षणहरुमा उनी निकै अगाडि देखिइन्। दोस्रो चरणसम्म पुग्ने ठानियो। तर उनको लोकप्रियता विस्तारै कम भयो।

बीबीसी सम्वाददाता जुलिया कार्नेरो भन्छिन् अन्तमा ब्राजिलका जनताले परम्परागत दलहरुलाई नै धेरै भोट दिए।