केन्याका राष्ट्रपति हेगस्थित अदालतमा

  • 8 अक्टोबर 2014
Image caption केन्याटामाथि सन् २००७ को चुनावपछि देशमा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ

मानवता विरोधी अपराधको मुद्दा खेपिरहेका केन्याका राष्ट्रपति उहुरु केन्याट्टा अन्तर्राष्ट्रिय फौज्दारी अदालत आइसीसीमा उपस्थित भएका छन्।

आफुमाथि लागेका मानवता विरोधी अपराधका अभियोगहरु उनले अस्वीकार गरेका छन्।

सात वर्ष अगाडि केन्यामा भएको निर्वाचनपश्चात भड्किएको हिंसालाई लिएर उनीमाथि अभियोगहरु लगाइएको हो।

बुधबारको अदालती कारवाहीको उद्देश्य उनी विरुद्धको मुद्दा अघि बढाउने वा खारेज गर्ने भन्ने विषयमा केन्द्रित थियो।

पहिलो

हेगस्थित अन्तर्राष्ट्रिय फौज्दारी अदालतमा उपस्थित हुने केन्याटा पहिलो बहालवाला राष्ट्रप्रमुख हुन्।

मुद्दा चलाउने वादी पक्षले उनीविरुद्ध मुद्दा अघि बढाउन आवश्यक पर्याप्त प्रमाण नभेटिएको भनेपछि उनलाई छलफलका निम्ति आइसीसीमा उपस्थित हुन भनिएको थियो।

वादी पक्षले केन्याली सरकारले महत्वपूर्ण प्रमाणहरु उपलब्ध नगराएसम्म अदालती कारवाहीलाई अनिश्चित समयका लागि स्थगित गर्न माग गरेको छ।

वादी पक्षका एकजना वकील बेन्जामिन गुम्पर्टले भने, “हामीले केन्याली सरकार आफ्नो कर्तव्य निर्वाह गर्दा विफल भएको भन्ने सही हो भनेर सोधेका छौँ। यदि यो अदालत सन्तुष्ट हुन्छ कि त्यस्तो विफलताका निम्ति कुनै जायज कारण थिएनन् भने त्यस्तो विफलतालाई दण्ड दिन आवश्यक कदम चाल्न जरुरी हुन्छ।”

प्रतिवादी पक्षले चाहिं राष्ट्रपति केन्याटा विरुद्धको मुद्दा पुरै खारेज हुनुपर्ने माग राखेको छ।

यसबारेको निर्णय आउन अझै केही समय लाग्ने बताइएको छ।

आरोप

केन्याटा माथि लागेका अभियोगहरु सन् २००७ को चुनावपश्चात भड्किएको हिंसामा उनको भूमिकासंग संबन्धित छन्।

ती घटनामा एक हजारभन्दा धेरै मानिसहरुले ज्यान गुमाएका थिए।

केन्याटाले उनी विरुद्धका आरोपहरु राजनीतिक रुपले प्रेरित भएको टिप्पणी गर्दै आएका छन्।

बीबीसी सम्वाददाता एन्ना होलीगान भन्छिन्, हेगस्थित उक्त अदालतमा केन्याटा प्रवेश गर्दा त्यहाँ गञ्जागोल देखिएको थियो र ठूलो भीड उनको प्रतिक्षामा रहेको थियो।

खासगरी उनी विरुद्धका प्रमाणहरुलाई केन्याली सरकारले लुकाइराखेको भन्ने आरोपको जवाफ आइसीसीले उनीसंग खोजेको थियो।

सम्वाददाता होलीगानका अनुसार अदालतमा उपस्थित हुँदा राष्ट्रपति केन्याटा शान्त र गम्भीर देखिन्थे।

सुनुवाइ शुरु भएपछि उनका वकील स्टिभन के ले उनले कुनै टिप्पणी नगर्ने बताए।