कुपोषण विरुद्ध 'सुनौला हजार दिन'

  • 9 अक्टोबर 2014
Image caption सरकारले सुरुमा हजार दिने अभियान ८ जिल्लामा सुरु गर्ने बताइएको छ

नेपालमा ४० प्रतिशत भन्दा बढी बालबालिका दीर्घ कुपोषणले ग्रस्त रहेको भन्दै उक्त समस्यासंग जुध्न सरकारले युनिसेफको सहयोगमा सुनौला हजार दिन नामक अभियान अगाडि सारेको छ।

दक्षिण एशियाका लागि युनिसेफका पोषण सदभावना दुत बलिउडका सुपरस्टार आमिरखानको उपस्थितिमा विहिबारदेखि उक्त अभियान सुरु गरिने अधिकारीहरुले बताएका छन्।

कुनै पनि देशमा ४० प्रतिशत भन्दा बढी बालबालिकामा दीर्घ कुपोषण देखिए ती देशमा गम्भीर जनस्वास्थ्य समस्या रहेको मानिन्छ।

पछिल्लो आँकडा अनुसार, पाँच वर्षमा दीर्घ कुपोषण देखिएका बालबालिकाको संख्या ४९ प्रतिशतबाट ४१ प्रतिशतमा झरे पनि अझै ४५ प्रतिशत बालमृत्यूदर कुपोषणकै कारण हुने युनिसेफले जनाएको छ।

सम्भावना

ती मध्ये पनि दीर्घ कुपोषणको समस्या १ वर्षभन्दा कम उमेरका बालबालिकामा ज्यादा देखिएको छ।

यस्तो समस्याले ग्रस्त बालबालिकामा उचित शारीरिक र मानसिक विकास नहुने र अन्य कैयौं रोगले आक्रमण गर्ने सम्भावना बढ्छ।

यस्तो अवस्थालाई सम्बोधन गर्न हजार दिने अभियान आमाको गर्भमा शिशु रहेदेखि दुइ वर्ष नहुँदासम्मको लागि सञ्चालन हुने बताइएको छ।

युनिसेफका पोषण विशेषज्ञ प्रद्ध्युम्न दाहाल भन्छन्, “४ मध्य १ जना बच्चाले मात्र चाहिने पोषण पाउन सकेको बेला यो अभियानले आमा र बच्चाको खानपानको विविधता र सरसफाइलाई प्राथमिकता दिन यो अभियान केन्द्रित हुन्छ।”

नेपालमा मात्रै नभइ दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान लगायतका देशमा पनि कुपोषणको समस्या उस्तै छ।

लक्ष्य

यो अभियानले खानेकुरामा विविधतामात्रै नभइ सरसफाइमार्फत पनि कुपोषण र त्यसबाट हुने बालमृत्यूदरलाई घटाउने लक्ष्य राखेको छ।

हजार दिनको लक्ष्यबारे दाहाल भन्छन्, “हजार दिनमा ४१ प्रतिशतको दीर्घ कुपोषणलाई १० प्रतिशत घटाउने लक्ष्य छ।”

तर पाँच वर्षमा जम्मा ८ प्रतिशतमात्रै दीर्घ कुपोषण घटेको बेला हजार दिनमा १० प्रतिशत घटाउन निकै चुनौतिपूर्ण हुने स्वयं अभियानकर्ताको भनाइ छ।