अमेरिकामा पहिलो इबोला संक्रमितको मृत्यु

  • 9 अक्टोबर 2014
तस्वीर कपीराइट AP
Image caption जन केरिले इबोला भाइरस विरुद्ध लड्ने अभियानमा तीव्रता दिन सबै मुलुकलाई आह्वान गरेका छन्

अमेरिकामा इबोला भाइरसबाट संक्रमित भएको पाइएका पहिलो व्यक्तिको उपचारको क्रममा बुधबार मृत्यु भएको टेक्सस अस्पतालका अधिकारीहरुले बताएका छन्।

४२ वर्षीय थोमस एरिक डंकनको डल्लसस्थित उक्त अस्पतालमा छुट्टै निगरानीमा उपचार भईरहेको थियो।

लाइबेरियाबाट फर्केका उनी इबोला भाइरसबाट संक्रमित भएको पाइएको थियो।

डल्लसस्थित टेक्सस अस्पतालमा स्थानीय समय अनुसार बुधबार बिहान ७ बजेर ५१ मिनेटमा डंकनको मृत्यु भएको उक्त अस्पतालका प्रवक्ताले विज्ञप्तिमार्फत जनाएका छन्।

संक्रमण

एउटा कुरियर कम्पनीका लागि चालकको रुपमा काम गर्दै आएका डंकनमा सेप्टेम्बर ३० तारिखमा डल्लसमा इबोला भाइरसको संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्।

अमेरिकी राष्ट्रपति बराक ओबामाले डंकनको परिवारप्रति आफूहरुको समवेदना रहेको बताए।

डंकनको मृत्युले गल्ती गर्नबाट आफूहरु धेरै टाढा नरहेको देखाएको भन्दै ओबामाले प्रक्रियाहरुको पालना नगरे आफ्ना समाजका मानिसहरुलाई जोखिममा पारेको हुने बताए।

अमेरिकी विदेशमन्त्री जन केरिले इबोला भाइरससँग जुझ्ने प्रयासमा तीव्रता दिन सबै मुलुकहरुलाई आग्रह गरेको केही समयपछि डंकनको मृत्युको खबर सार्वनजिक भएको थियो।

तीव्रता

आफ्ना ब्रिटिस समकक्षी फिलिप हामोन्डसँग संयुक्त पत्रकार सम्मेलनमा केरिले धेरै मुलुकहरुले गर्न सक्ने र उनीहरुले त्यसमा तीव्रता दिनुपर्ने बताए।

त्यसअघि अमेरिकाले इबोला भाइरसको जाँचका निम्ति प्रवेश स्थानहरुमा नयाँ उपायहरु अवलम्बन गर्ने घोषणा गरेको थियो।

अमेरिकाले पश्चिम अफ्रिकामा चार हजार सैनिक पठाउने घोषणा गरेको छ भने ब्रिटेनले सियरा लियोनमा ७ सय ५० जना सैनिक पठाउन लागेको बताएको छ।

इबोला भाइरसबाट हालसम्म तीन हजार ८ सय ६५ जनाको मृत्यु भईसकेको बताइएको छ।

मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी लाइबेरिया, सियरा लियोन र गिनिका रहेका छन्।