कुपोषण हटाउन हजार दिने अभियान सुरु

  • 9 अक्टोबर 2014
Image caption अहिले नेपालमा दीर्घ कुपोषणबाट ग्रस्त बालबालिकाहरु ४१ प्रतिशत छन

नेपालमा दीर्घ कुपोषण ४१ प्रतिशत बालबालिकाहरुमा देखिएको बेला त्यसलाई घटाउन बिहीबारबाट सुनौला हजार दिन नामक अभियान सुरु भएको छ।

बिहीबारै युनिसेफको पोषण कार्यक्रममका लागि दक्षिण एशियाली क्षेत्रको सद्भावना दूतमा नियुक्त भएका हिन्दी सिनेमाका चर्चित नायक आमिर खान र नेपाली क्रिकेटका कप्तान पारस खड्का मिलेर यो अभियान सुरु गरेका हुन्।

बच्चा आमाको गर्भमा रहेको पहिलो दिनदेखि बच्चा दुइ वर्षको नहुँदासम्मको हजार दिनलाइ विशेष ध्यानमा राख्नुपर्ने सन्देशसहितको यो अभियानले कुपोषण न्यूनिकरणका लागि ठूलो मद्दत पुग्ने सहभागीहरुको भनाइ छ।

दृढता

आमिर खानले आंकडा सहित दक्षिण एशियाका देशहरुमा रहेको कुपोषणको समस्या सम्बोधन गर्दै हजार दिने अभियानको आवश्यकता औंल्याएका थिए।

उनले बुधबार कपिलवस्तुको भ्रमणका क्रममा भेटेका थुप्रै महिला स्वयंसेविकाहरुले स्रोतसाधनको अभावमा पनि कुपोषण विरुद्ध काम गरिरहेकोमा प्रशंसा गर्दै त्यहाँ पुग्दाको आफ्नो अनुभव सुनाए।

उनले भने, "ती मानिसहरुलाई भेट्दा मलाई लाग्यो खासमा उनीहरु र म मा खास फरक छैन। यो एउटा मौकाको कुरामात्रै हो, म गरिबी भएको त्यस्तो गाउँमा जन्मिनु परेन। तर अब यो असैह्य असमानता हटाउन म यो अभियान मार्फत हाम्रा बालबालिकाले पाउनुपर्ने कुरा दिनका लागि काम गर्नेछु।"

उनीसँगै अभियानका सद्भावना दुत तथा नेपाली क्रिकेट कप्तान पारस खड्काले पनि हजार दिनको अभियान आजैबाट सुरु भएको भन्दै बाकिँ दिनमा कुपोषण हटाउन आआफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताए।

आशा

खड्काले भने, "अभियानको आज पहिलो दिन हो र अबको ९ सय ९९ दिनमा आशा गरौं हामी कुपोषणलाई दक्षिण एशियाबाटै हटाउन सक्नेछौं।"

उक्त अभियानले आगामी हजार दिनमा दीर्घ कुपोषणलाई ४० बाट ३० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

पछिल्लो आंकडा अनुसार एक वर्ष भन्दा कम उमेरका बच्चाहरुले ज्यान गुमाउने अवस्थामा सुधार आउन नसकेको बेला हजार दिने अभियान सुरु गरिएको अधिकारीहरुले बताएका छन्।

बच्चाहरुको शारिरिक र मानसिक विकासका लागि आमाहरुलाई गर्भावस्थादेखि बच्चा दुइ वर्षको नहुँदासम्म खानपान र सरसफाइबारे जनचेतना जगाएर कुपोषण घटाउन यो अभियान सार्थक हुने उनीहरुको भनाइ छ।