कोबानीमाथि ताजा हमला

  • 11 अक्टोबर 2014
कोबानी तस्वीर कपीराइट Reuters
Image caption कोबानीलाई इस्लामिक स्टेट लडाकुहरुको नियन्त्रणमा जानबाट रोक्न हवाइ हमला जारी रहेको छ

कुर्द लडाकुहरुलाई चारैतिरबाट घेराबन्दी गर्ने उद्देश्यले इस्लामिक स्टेट संग संबद्ध उग्रवादीहरुले सीमावर्ती सिरियाली नगर कोबानीमाथि ताजा हमला शुरु गरेका छन्।

आइएस लडाकुहरुले शहरको पश्चिम भागमा हमला गरेका थिए, तर उनीहरुले टर्कीतर्फ जाने सीमानाकामाथि नियन्ण जमाउन भने सकेनन्।

संवाददाताहरु भन्छन्, उक्त सीमा नाका अत्यावश्यक सामग्रीहरु भित्र्याउने र टर्कीसंगको सम्पर्ककालागि अत्यन्त महत्वपूर्ण नाका हो।

अमेरिकी नेतृत्वको गठबन्धनले इस्लामिक स्टेट जेहादीहरुविरुद्ध हवाइ हमला जारी राखेको छ।

आवश्यक

तर कुर्द लडाकुहरुले थप हातहतियार र गोलाबारुद आवश्यक रहेको बताएका छन्।

कोबानीमा लडिरहेका कुर्द लडाकुहरुका एकजना वरिष्ठ सदस्य इस्मत शेख हसनले भने, "हामी शहरमै रहेका सर्वसाधारणकालागि एउटा सुरक्षित नाका खुला गरियोस् भन्ने चाहन्छौं। हामीले गएको २६ दिनदेखि प्रतिरोध गरिरहेका छौं। हामी अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघले हामीलाई मदत गरोस् भन्ने चाहन्छौं।"

सिरिया तथा टर्कीको सीमामा रहेका बीबीसीका संवाददाता क्वेन्टिन समरभिल भन्छन्, कुर्द मिलिसियाहरुले कोबानेतर्फ अगाडि बढेका इस्लामिक स्टेट लडाकुहरुलाई केही हदसम्म पछाडि धकेली दिएका छन्।

यद्यपि उनले भने, उग्रवादीहरुले नगरको दक्षिण तथा पूर्वी भागबाट कोबानीमाथि हमला गरिरहेका छन्।

शुक्रबार सिरियाकालागि राष्ट्रसंघीय दूत स्टेफेन दे मिस्तुराले यदि कोबानीमाथि इस्लामिक स्टेट लडाकुहरुले कब्जा जमाएमा उनीहरुले ठूलो स्तरमा आमनरसंहार गर्न सक्ने चेतावनी दिएका थिए।

उनले टर्कीलाई हतियारधारी कुर्द स्वयमसेवकहरुलाई आत्मरक्षाकालागि गरिने कारवाहीमा सामेल हुन कोबानी जान अनुमति दिन आह्वान गरेका थिए।

कारवाही

टर्कीले सिरियासंगको सीमामा आफ्ना सैन्य तैनाथ गरेको छ, तर उसले आफु एक्लैले मात्रै इस्लामिक स्टेट लडाकुहरु विरुद्ध स्थलगत कारवाही नगर्ने जनाएको छ।

गत सेप्टेम्बर महिनाको मध्यतिरबाट इस्लामिक स्टेट लडाकुहरुले कोबानीमाथि हमला शुरु गरेयता झण्डै पाँचसयजनाको ज्यान गैसकेको छ भने दुईलाख जति स्थानीय वासिन्दा सीमा पार गरी टर्की पुगेका छन्।

टर्कीका अल्पसंख्यक कुर्द समुदायले टर्कीको सरकारविरुद्ध लामो समयसम्म लडाईं गरेका थिए।

त्यसैले कुर्द लडाकुहरुलाई हातहतियार दिन टर्कीको सरकार अनिच्छुक देखिन्छ।

इस्लामिक स्टेट लडाकुहरुले सिरिया र इराकका ठूलो भूभागमाथि कब्जा जमाएका छन्।