चक्रवाती तूफान 'हुदहुद' आउँदै

  • 12 अक्टोबर 2014
तस्वीर कपीराइट AP
Image caption सन् १९९९ मा यस्तै आँधी आउँदा दश हजारको ज्यान गएको थियो

बंगालको खाडीमा उठेको चक्रवाती तूफान भारतको दक्षिण-पूर्वी तटीय क्षेत्रसम्म पुग्ने पूर्वानुमानमा पाँच लाख जति मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

हुदहुद नामको उक्त चक्रवाती तूफान मध्यान्हतिर शुरुमा आन्ध्र प्रदेशस्थित तटीय इलाका विशाखापट्नम पुग्ने मौसम विभागको अनुमान छ।

केही घण्टादेखि १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उक्त चक्रवात आन्ध्रप्रदेश तर्फ आइरहेको छ।

हुरी-वतास

केही बेरअघिसम्म उक्त चक्रवात विशाखापट्नम पुग्न करिव एक सय किलोमीटर बाँकी थियो।

चक्रवातका कारण समुन्द्री लहर तीस मिटर उचाईसम्म उठ्ने छ।

विशाखापट्नम पुग्नु अघि चक्रवातको तीव्रता लगातार बढ्नेछ।

समुन्द्री तटमा ठोक्किएपछि भने त्यसको शक्तिमा कमि आउने बताइएको छ।

चक्रवातका कारण प्रतिघण्टा दुई सय किलोमिटर गतिको वेगमा हुरीवतास चल्न सक्ने अधिकारीहरुले जनाएका छन्।

उद्धार केन्द्र

चक्रवातले ओडिसालाई पनि प्रभावित गर्ने बताइएको छ।

तस्वीर कपीराइट Reuters
Image caption समुन्द्री तूफानसँग जुध्न सबै तयारी भएको अधिकारीहरुले जनाएका छन्

मौसम विभागले आँधीबेरीका कारण विजुली र टेलफोनका खम्बा तथा रुख र कच्चि घरमा क्षति पुग्ने अनुमान गरेको छ।

सम्भावित खतरालाई ध्यानमा राख्दै चेन्नई र भुवनेश्वरबीचको रेल सेवा बन्द गरिएको छ।

ती क्षेत्रहरुमा सयौं उद्धार केन्द्रहरु खोलिएका छन्, जहाँ निशुल्क खाना, पानी र बसोबासको व्यवस्था गरिएको छ।

सुधार

सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।

जल सेनाको पूर्वी कमाण्डले पाँचवटा हेलिकोप्टर र डुंगाहरु सहित चौविसै घण्टे उद्धार टीम तयारी अवस्थामा राखेको छ।

बीबीसी सम्वाददाता जिल मकगीवरिङ भन्छिन्, “सन् १९९९ मा यस्तै आँधी आउँदा दश हजारको ज्यान गएको थियो। त्यसयता अधिकारीहरुले स्थानीय जनतालाई सुरक्षित गर्ने उपायहरुमा सुधार गरेका छन्।”

प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी तयारी समीक्षा गर्न शनिबार अबेर दिल्लीमा आपतकालीन बैठक गरेका थिए।