अमेरिकामा पनि इबोलाको संक्रमण

  • 12 अक्टोबर 2014
तस्वीर कपीराइट PA
Image caption पश्चिम अफ्रिकामा चार हजारभन्दा बढी मानिसले इबोला संक्रमणबाट ज्यान गुमाइसकेका छन्

अमेरिकामा प्राणघातक इबोलाबाट ग्रसित बिरामीको उपचारमा संलग्न एक जना स्वास्थ्यकर्मीलाई पनि उक्त रोग लागेको देखिएको छ।

नाम नखुलाइएकी ती स्वास्थ्यकर्मी, लाइबेरियामा इबोला संक्रमण भएपछि अमेरिकामा पुगेका थोमस डन्कनको उपचारमा संलग्न थिइन्।

अमेरिकाको टेक्सस राज्यको स्वास्थ्य विभागले जनाए अनुसार इबोलाको संक्रमण भेटिएकी स्वास्थ्यकर्मीलाई शुक्रबार मन्द ज्वरो आएको थियो।

त्यस लगत्तै उनको थप परिक्षणहरु गरिएको थियो।

अहिले उनीसंग स्वास्थ्य अधिकारीहरुले कुराकानी गरिरहेको र उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको बताइएको छ।

अनुगमन

त्यसपश्चात त्यस्ता व्यक्तिहरुको पनि अनुगमन गरिने अधिकारीहरुले जनाएका छन्।

लाइबेरियामा संक्रमणपछि टेक्ससमा उपचार गर्न पुगेका थोमस डन्कनसंग प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको पनि अनुगमन गरिएको थियो।

डन्कनलाई छुट्टै राखेर उपचार गर्नुका साथै परीक्षणका लागि बनाइएको औषधी समेत दिइएको थियो।

तर गत बुधवार उनको ज्यान गयो।

डन्कनको उपचारमा संलग्न ती स्वास्थ्यकर्मी पश्चिम अफ्रिका बाहिर मानिसबाट मानिसमा इबोला सरेको दोस्रो उदाहरण हुन्।

त्रास

उक्त रोगको संक्रमण भएकी एक जना स्पेनी नर्सको अहिले उपचार भइरहेको छ।

यसैबीच आफ्नो एक राज्यमा पनि इबोला संक्रमण देखिएपछि अमेरिकाले इबोला प्रभावित देशहरुबाट त्यहां पुग्ने यात्रुहरुको न्यूयोर्कको जेएफके विमानस्थलमा जांच सुरु गरेको छ।

यात्रुहरुको शरीरको तापक्रम लिइनुका साथै उनीहरुसंग लामो सोधपुछ गरिने बताइएको छ।