‘इबोला संक्रमितको उपचारको क्रममा गल्ती’

  • 13 अक्टोबर 2014
तस्वीर कपीराइट na
Image caption इबोला संक्रमित नर्सको घर प्रहरी निगरानीमा सफा गरिएको छ

टेक्सस अस्पतालमा हालै इबोला भाइरस संक्रमित व्यक्तिको उपचारका क्रममा गरिएको गल्तीका कारण एकजना स्वास्थ्यकर्मीलाई उक्त भाइरस लागेको अमेरिकी स्वास्थ्य प्रमुखले बताएका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले डल्लसमा ती महिला स्वास्थ्यकर्मीमा इबोला भाइरस देखिएको पुष्टि भएको जनाएको छ।

टेक्सस अस्पतालकी ती महिला स्वास्थ्यकर्मीको छुट्टै युनिटमा उपचार भईरहेको छ।

उनको अवस्था स्थिर रहेको अधिकारीहरुले बताएका छन्।

छानबिन

ती स्वास्थ्यकर्मीले इबोलाबाट संक्रमित थोमस एरिक डंकनको उपचार गरेकी थिइन्।

लाइबेरियाबाट अमेरिका फर्केका ती व्यक्तिको टेक्सस अस्पतालमा उपचारका क्रममा गत बुधबार मृत्यु भएको थियो।

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख डाक्टर टोम फ्राइडेनले ती स्वास्थ्यकर्मीमा इबोला भाइरसको संक्रमण कसरी भयो भन्ने विषयमा पूर्ण छानबिन गरिने बताएका छन्।

उनले ती बिरामीको सम्पर्कमा आएका अन्य ४८ जना व्यक्तिहरुको पनि परीक्षण भईरहेको बताए।

फ्राइडेनले इबोला संक्रमितको उपचारका क्रममा स्पष्ट रुपमा गल्ती गरिएको देखिएको जनाए।

तस्वीर कपीराइट EPA
Image caption संक्रमित नर्सको टेक्सस अस्पतालमा विशेष निगरानीमा उपचार भईरहेको बताइएको छ

उनले भने, “दुर्भाग्यका साथ आगामी दिनमा हामीले थप नयाँ बिरामीहरु देख्नुपर्ने हुन्छ। संक्रमित व्यक्तिको उपचारमा संलग्न मानिसले सुरक्षाविधि उल्लंघन गर्दा यसो भएको हुनुपर्छ।”

निगरानी

उनले इबोला भाइरसबारे स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षित गर्ने कार्य तीव्र पारिने र त्यसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको संख्या घटाइने बताए।

इबोला भाइरसबाट संक्रमित ती महिला स्वास्थ्यकर्मी बस्ने डल्लसस्थित घरको अहिले प्रहरीको निगरानीमा सरसफाई भईरहेको अधिकारीहरुले बताएका छन्।

परिवारका सदस्यहरुको इच्छा अनुसार ती महिला स्वास्थ्यकर्मीको परिचय नखुलाइएको बताइएको छ।

इबोला भाइरसबाट खासगरी लाइबेरिया, गिनी र सियरा लियोनमा हालसम्म ८ हजार ३ सयभन्दा बढी मानिस संक्रमित भईसकेका छन् भने ४ हजार ३३ जनाको मृत्यु भईसकेको छ।