इबोलाबाट जर्मनीमा एकजनाको मृत्यु

  • 14 अक्टोबर 2014
तस्वीर कपीराइट EPA
Image caption इबोला परिक्षण गर्ने एक स्वास्थ्यकर्मीको हालै अमेरिकामा निधन भएको थियो।

अमेरिकामा एक स्वास्थ्यकर्मीलाई इबोला देखिएको केही दिनमै इबोलाले संक्रमित एक राष्ट्रसंघीय कर्मचारीको उपचारका क्रममा जर्मनीमा निधन भएको छ।

नाम नखुलाईएका ती सुडानीलाई गत साता लाइबेरियाबाट उपचारका लागि लाइप्जिगस्थित विशेष क्लिनिकमा लगिएको थियो।

त्यस्तै सियरा लियोनमा एक सैनिकलाई इबोला संक्रमण भएको पाइएपछि आठ सय सैनिकको पूरै गणलाई क्वारानटाइनमा राखिएको छ।

ती सैनिक अफ्रिकन युनियन फौजमा संलग्न छन्।

जर्मनीको लाइप्जिगस्थित अस्पतालका अधिकारीहरुले बताए अनुसार ती सुडानीलाई पूरै सील गरिएको कोठाभित्र राखि हाल परीक्षणमा रहेका औषधिहरुसमेत दिइ उपचार गरिएको थियो।

उपचार

उनी लाइबेरियामा राष्ट्रसंघीय स्वास्थ अधिकारीका रुपमा कार्यरत थिए।

उनलाई गत विहीबार उपचारका लागि जर्मनी पुर्याइएको थियो।

बर्लीनस्थित बीबीसी सम्वाददाता जेनी हिल भन्छिन्, "जर्मनीमा उपचार गराइरहेका इबोला ग्रसित तीन जना मध्ये तिनी एक थिए। सेनेगलका एक सहयोग कार्यकर्ता पूरै निको भएका छन् ‍र तिनलाई ह्याम्बर्गको अस्पतालबाट डिस्चार्ज गरिंदैछ। त्यस्तै सियारा लियोनमा कार्यरत रहँदा संक्रमित भएका युगाण्डाका डाक्टरलाई फ्र्यांकफर्टमा उपचार गरिंदैछ।"

मार्च महिनायतादेखि खासगरी लाइबेरिया, सियरा लियोन, गिनी तथा नाइजेरीयामा गरी इबोलाका कारण मर्नेहरुको संख्या चार हजार नाघेको छ।

समस्या

विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले अहिलेको इबोला संक्रमणलाई आधुनिक समयकै सबभन्दा गम्भीर स्वास्थ्य समस्या बताएको छ।

अमेरिका र ब्रिटेनले विमानस्थलमा निरीक्षण थालेका छन्।

ब्रिटेनमा लाइबेरिया सियरा लियोन तथा गिनीबाट आउने यात्रुहरुको तापक्रम नापिने र तिनलाई सोधपूछ गरिनेछ।

यसबीच सोमालियामा शान्तिस्थापनार्थ खटिने क्रममा तयारी हालतमा राखिएको अफ्रिकि युनियनको फौजको एक गणलाई सियरा लियोनमा एक्ल्याइएर क्वारान्टाइन निरीक्षणमा राखिएको छ।

ती फौजका एक सदस्यलाई इबोला लागेको पत्ता लागेपछि त्यसो गरिएको बताइएको छ।