हुदहुदका कारण बाढी पीडित 'त्रसित'

  • 14 अक्टोबर 2014
तस्वीर कपीराइट Netra KC
Image caption फेरी अर्को विपत्तिको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ता बाढी पीडितहरुमा बढेको छ

‘हुदहुद’ समुद्री आँधीको असरले देशभर वर्षा भइरहँदा मध्य र सुदूरपश्चिमका बाढी पीडितहरुले अर्को विपत्तिको सामना गर्नुपर्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्।

अबिरल वर्षाका कारण अस्थायी शिविरमा चिसो बढेको र खाना पकाउने अवस्था समेत नभएको पीडितहरुले गुनासो गरेका छन्।

गृह मन्त्रालयका अधिकारीहरूले अहिलेको वर्षाले त्यस्तो विपत नआउने र आइहाले पनि राहत र उद्दारको काम तत्काल हुने बताएका छन्।

वर्षासँगै कतिपय हिमाली जिल्लाहरुमा हिमपात भएको पनि खबरहरु आएका छन्।

डर

झन्डै डेढ महिना पहिले पश्चिम नेपालका विभिन्न नदी र खोलाहरुमा आएको बाढीका कारण घरबार गुमाएका मानिसहरु अहिले सरकारले व्यवस्था गरेका शिविर र पालमा बसिरहेका छन्।

अब त वर्षा सकियो भनेर ढुक्कले बसिरहेका ती बस्तीहरुमा लगातारको यो वर्षा पछि फेरी पहिलेको जस्तै हुने हो कि भन्ने त्रासदी फैलिएको छ।

बबई नदीमा आएको बाढीका कारण घरबार गुमाएका बर्दिया बनियाभारका रामबहादुर परियार भन्छन्, “दिनभर पानी परिरहेकाले फेरी बाढी आउँछ भनेर निक्कै डर लागिरहेको छ।”

दाङ फुलबारीकी बिष्णु नेपालीलाई पनि जारी वर्षाले चिन्तित तुल्याएको छ।

उनी भन्छिन्, “पहिला बाढी आउँदा राति बच्चालाई च्यापेर म भागेकी थिएँ, अहिले त्यस्तै फेरी हुन्छ कि भनेर मन दुखेको दुख्यै छ।”

मनमा डर त छँदैछ, भएको पालहरुबाट पानी भित्र पसेपछि बस्नै गाह्रो भएको बताईएको छ।

दाङ फुलबारीकी ज्योती नेपालीले खाना पकाउने अवस्था समेत नभएको र पानीसंगै बढेको चीसोले समस्या परेको बताईन्।

आश्वस्त

हाल बाढी पीडित मानिसहरु बसिरहेको शिविरहरुमा बसाईको समस्या देखिएमा सामुदायिक भवन र खाली घरहरुमा राख्ने व्यवस्था मिलाईएको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख यादव कोईरालाले बताए।

पछिल्लो वर्षाले केही ठाँउमा हिमपात र पहिरोको सम्भावना रहेको भए पनि यो पानीले बाढीनै आउने अवस्था नरहने उनले बताए।

“पानीको कारणले त्यस्तो कुनै असर पार्ने अवस्था देखिएको छैन, तैपनि केहि पर्यो भने तुरुन्तै उद्दार कार्य अघि बढाउन तयार रहन हामीले निर्देशन दिएका छौँ।”

जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले भैरहेको वर्षा पूर्वी नेपालमा बुधबार देखि नै कम हुने र पश्चीम नेपालमा बिहीवारसम्म जारी रहने अनुमान गरेको छ।

हुदहुदसंगै उत्पन्न बाष्पयुक्त बादलका कारण काठमाडौं, भैरहवा, दाङ, पोखरा, सुर्खेतलगायतका स्थानमा भारी वर्षा भएको छ भने मुलुकका हिमाली जिल्लाहरुमा हिमपात भएको छ।

आईतबारसम्म अधिकतम २३ डिग्री सेल्सियस रहेको जुम्लाको मंगलबारको अधिकतम तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको बताईएको छ।